काठमाण्डौ । चालू आर्थिक वर्ष २०८०/ ८१ को तीन महिनामा व्यापार घाटा ३ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.१५ प्रतिशतले बढी हो ।

भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार असोज मसान्तसम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा आयात १.६९ प्रतिशतले बढेको हो।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको साउन, भदौ र असोजमा ४ खर्ब ७ अर्ब ७५ करोड रुपैयाँको वस्तु आयात भएको छ । गत वर्ष भने सोही अवधिमा ४ खर्ब ९९ करोडरुपैयाँको  वस्तु आयात भएको थियो । 

गत आर्थिक वर्षको पहिलो तीन महिनामा व्यापार घाटा ३ खर्ब ५९ अर्ब १७ करोड रुपैयाँ थियो । 

गत आर्थिक वर्षको साउन, भदौ र असोजमा ४१ अर्ब ८२ करोड रुपैयाँको वस्तु निर्यात हुँदा चालू आर्थिक वर्षको सोही अवधिमा ४० अर्ब ८७ करोडको वस्तु निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।आयातमा वृद्धि भए पनि निर्यात भने घटेको छ । 

विभागका अनुसार चालू आर्थिक वर्षको तीन महिनामा सबैभन्दा बढी २९ अर्ब रुपैयाँको डिजेल, १७ अर्बको पेट्रोल, ११ अर्बको एलपीजी ग्यास आयात भएको  छ ।

चालू आर्थिक वर्षको तीन महिनामा सबैभन्दा बढी २ अर्बको गलैंचा, १ अर्बको फलामजन्य वस्तु, १ अर्बको अलैंची निर्यात भएको छ ।

१ खर्ब नाघ्यो भन्सार राजस्व

आयातमा केही सुधारसँगै पहिलो त्रैमासमा भन्सार राजस्व १ खर्ब नाघेको छ । असाजसम्म कुल १ खर्ब ९ अर्ब २४ करोड ९१ लाख ६ हजार  राजस्व प्राप्त भएको भन्सार विभागले जनाएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा ९६ अर्ब ६१ करोड रहेको भन्सार राजस्व चालू आर्थिक वर्षमा उल्लेख्य रुपमा बृद्धि देखिएको हो ।