काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले व्यवसायिक सुरक्षाको प्रदान प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गराएको छ। 

काठमाण्डौको बलाजुस्थित ल्होत्से मलमा तोडफोड र पसलहरुमा भएको लुटपाटप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै चेम्बरले व्यावसायिक क्षेत्रमा सुरक्षाको प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गराएको हो। 

चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न मजदुर यातायात संगठनले गरेको आन्दोलनको मौका छोपी काठमाण्डौको बालाजुमा रहेको नयाँबसपार्कस्थित ल्होत्से मलमा रहेका पसलहरुमा तोडफोड गरी लुटपाट भएको घटनामा नेपाल चेम्बर अफ कमर्सको गम्भिर ध्यानाकर्षण भएको छ,।’ 

उक्त घटनाका दोषीलाई अबिलम्व कानूनी कारबाही गर्न र पीडित व्यवसायीलाई लुटपाटमा संलग्नहरुबाटै क्षतिपूर्तिको व्यवस्था गर्न पनि चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ। 

शान्तिपूर्ण आन्दोलन एवं प्रदर्शन गर्ने अधिकार भए पनि आन्दोलनका नाममा उच्छृखंल गतिविधि, लुटपाट र तोडफोड गर्ने छुट कसैलाई पनि  नभएको चेम्बर अध्यक्ष राजेन्द्र मल्लद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। औद्योगिक एवं व्यावसायिक क्षेत्रहरुको सुरक्षाका लागि सुरक्षा निकायलाई चुस्त र तैनाथी अवस्थामा राख्नुपर्ने अध्यक्ष मल्लले बताए। 

व्यावसायिक क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न नसकिए व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउने विज्ञप्तिमा उल्लेख छ। व्यवसायमा लुटपाट, तोडफोड जस्ता घटनाले अर्को आतंक सिर्जना गरेको चेम्बरले जनाएको छ। 

राज्यलाई कर तिरेर व्यवसाय सञ्चालन गर्दा समेत शान्ति सुरक्षा कायम हुन नसक्नु दुर्भाग्यपुर्ण भएको चेम्बरको ठहर छ। चेम्बरले बालाजु घटनाका पीडित व्यवसायीलाई तत्काल क्षतिपूर्ति उपलव्ध गराउन र आगामी दिनमा यस्ताखाले घटना दोहोरिन नदिन सरकारलाई सचेतसमेत गराएको छ।