काठमाडौँ । बङ्गालको खाडीको दक्षिण पूर्वीभागमा भएको धेरै शक्तिशाली चक्रवात, फानी, बिस्तारै उत्तर–पश्चिम दिशातर्फ बढिरहेकाले देशको हिमाली भू–भागमा भारी हिमपात तथा पूर्वी र मध्यका केही स्थानका हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाले आज विज्ञप्ति जारी गर्दै बङ्गालको खाडीको दक्षिण पूर्वी भागमा बनेको शक्तिशाली चक्रवात, फानी, विस्तारै उत्तर–पश्चिम दिशातर्फ अगाडि बढेकाले यसको ठूलो प्रभाव नपरे पनि हिमाली भू–भागमा भारी हिमपात र पूर्वी तथा मध्यका केही स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएकाले मौसमविद्ले सचेत रहन आग्रह गरेको छ । 

उक्त चक्रवात नेपालतर्फ आउने सम्भावना अहिलेसम्म नदेखिएता पनि नेपालको पूर्वी र मध्य हिमाली भू–भागमा भारी हिमपात तथा प्रि–मनशुन भएकाले पूर्वी र मध्यका स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

पश्चिमी वायुको प्रभावका कारण हावाहुरी

काठमाडौँ उपत्यकामा आज साँझ आएको भिषण हावाहुरीले त्रसित बनाउनुका साथै केही बेर जनजीवनमा प्रभावित बनाएको छ ।  हावाहुरी र पानीका कारण यात्रा गरिरहेका यात्रुलाई निकै सास्ती बनायो । 
मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ध् गङ्गा नगरकोटीका अनुसार प्रि मनसुनका कारण र स्थानीय र पश्चिमी वायुको कारणले मौसम सक्रिए भएको हो । यो अवस्थामा हावाहुरी चल्ने र मेघगर्जनसहित पानी गर्ने गर्दछ । प्रि मनसुका अवस्थामा हुने यो नियमति प्रक्रिया नै हो । हावाहुरीका कारण बालाजुस्थित भाटभटेनी सुपरमार्केट नजिकै एक रुख भाच्चिदा बा ४ च १२३ नम्बरको पजेको गाडीमा सामान्य क्षति भएको महानगरी प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिनुभयो ।