काठमाण्डौ । जीवनमा पैसाको महत्व कति हुन्छ सबैलाई थाहा छ । कतिपय समयमा निकै जरुरी पर्दा पनि पैसा नहुँदाको अवस्थालाई कसरी आफ्नो नियन्त्रणमा राख्ने वा समस्या कसरी टार्ने भन्ने बिषय निकै अहम् बनिदिन्छ । यदि आज तपार्इंलाई पैसाको समस्या छ भने यसको अर्थ हो कि पहिला तपाईंले उचित ढंगले फाइनान्सियल व्यवस्थापन गर्नु भएन वा त्यस्तो व्यवस्थापन गर्न चुक्नु भयो । तर यदि तपाईले बेलैमा केही बिषयमा सावधान रहनुभयो भने भविष्यमा पैसाको समस्या वा सकस पर्दैन । हामी आजको शनिवार विशेषमा तपाईंलाई पैसाको विषयमा गरिने ५ गल्तीहरुको बिषय सुझाउन गइरहेका छौ, ताकि यी गल्ती नगरे तपाईंलाई पैसाले धेरै पिरोल्दैन । 

बचतबाट ऋण तिर्नु
पैसा निकाल्नु जम्मा गर्ने तुलनामा निकै सजिलो काम हो । तपाईंलाई आफ्नो बचतबाट ऋण तिर्नु निकै सहज महसुस हुनसक्ला, तर यो एकदमै खराब बानी हो । बचतबाट पैसा निकालेर ऋण तिर्दा तत्काल तपाईंलाई सहज होला र अहिले हाम्रो कुरा महत्वपूर्ण पनि नलाग्ला, तर आज बचत मासेको महसुस भोलिका दिनमा हुनेछ । त्यसबेला तपाईंले हाम्रो टिप्स याद गर्नु हुनेछ । बचतलाई जोगाएरै ऋण तिर्ने सजिलो तरिका भनेको ऋण तिर्ने अटो सिस्टममा आफूलाई ढाल्नु हो । जस्तो: लिएको ऋणलाई निश्चित महिनामा तिर्ने योजना बनाएर कमाएको पैसामध्ये हरेक महिना निश्चित रकम ऋण तिर्दै जानुहोस्  । यसले थाहै नपाई ऋण पनि चुक्ता भइदिन्छ र तपाईंको बचत पनि जोगिन्छ । 

आपतकालीन कोष नबनाउनु
धेरै परिवार हरेक महिना प्राप्त हुने निश्चित तलब वा रकमबाट घरपरिवार चलाउने खालको हुन्छ । अधिकांश मानिसको आम्दानी वा तलब नियमित खर्च धान्न पुग्ने मात्र हुन्छ । यस्तो अवस्थामा आकस्मिक जरुरत वा मेडिकल इमेरजेन्सीमा पैसा नहुँदा निकै ठूलो विपद आइपर्न सक्छ । त्यति मात्र होइन, मान्नुहोस् कि तपाईंले खाँदै आएको वा गर्दै आएको कम एक महिना रोकिने भयो र सो अवधिमा आम्दानी समेत नहुने हो भने घरपरिवारको दैनिक आवश्यकता पूरा गर्नैका लागि तपाईंलाई सकस वा समस्या हुनसक्छ । किनकि निश्चित रकम नियमित खर्चमै सकिइसकेको हुन्छ, आपतकालीन कुनै कोष वा पैसाको स्रोत नहुँदा हातमुख जोर्न नै धौ धौ पर्न जान्छ । तर यदि आकस्मिक कोषतर्फ ध्यान दिइयो भने मेडिकल इमेरजेन्सी जस्ता समस्यामा पनि खर्चको ठूलै समस्या परिहाल्दैन । त्यसकारण हरेक महिनाको नियमित खर्चबाट केही हिस्सा जोगाएर हरेक महिना नै इमेरजेन्सी फण्ड बनाई त्यसमा जम्मा गर्दा यसले आपतको आर्थिक समस्या व्यवस्थापन सहज बन्नेछ । 

बिनाबजेट खर्च गर्नु
भविष्यमा गएर तपाईंलाई पैसाका कारण कस्ता–कस्ता समस्या आउँछ वा सहजता आउँछ भन्ने कुरा तपाईं आज कुन हिसाबले पैसा खर्च गरिरहनुभएको छ भन्ने कुरामा निर्भर हुन्छ । त्यसकारण यसका लागि आज तपाईंले जति आम्दानी गरिरहनुभएको छ, त्यसलाई सही ढंगले बजेट बनाई खर्च गर्नु बुद्धिमता हुनेछ । बजेट बनाएर खर्च गर्दा तपाईंलाई जानकारी हुन्छ कि तपाईंको पैसा कुन–कुन चिजमा खर्च भइरहेको छ । यसबाट तपाईंले खर्च भइरहेको कुरा कत्तिको जायज छ या छैन भन्ने कुरा समेत अन्दाज गर्न सक्नुहुन्छ । कतिपय अवस्थामा मानिसले अत्यावश्यक नभएको वाहियात शीर्षकमा समेत जानी नजानी ठूलै राशि खर्च गरिरहेको हुन्छ । बजेट बनाएर खर्च गर्दा यस्तो अनावश्यक खर्च रोक्न तपाईंलाई ज्ञान प्राप्त हुनसक्छ । अर्कोतर्फ बिना बजेट खर्च गर्दा तपाईं आफैंलाई पनि आफ्नो पैसा कहाँ खर्च भइरहेको छ पत्तो नहुनसक्छ, यसले दिक्दारी पैदा गरिदिन्छ । 

मूल्य घट्ने सम्पत्तिमा लगानी गर्नु
कार, मोटरसाइकलजस्ता सम्पत्ति खरीदका लागि ऋण लिनु भनेको मूल्य घट्ने खालको सम्पत्तिमा लगानी गर्नु हो । जब समय बित्दै जान्छ, तब यस्ता सम्पत्तिको भ्यालू घट्दै जान्छ । तपाईंलाई यस्ता चिजहरुको धेरै जरुरत नहुञ्जेल र यस्ता चिज ऋणमा लिएर सहज ढंगले किस्ता तिर्न सक्नुहुन्न भने यस्ता चिज खरीदमा हतारो नगर्नु राम्रो हुन्छ । यदि तपाईंलाई कार वा मोटरसाइकलको निकै जरुरत नै छ भने पनि सस्तो दरको खरीद गर्नुहोस् । यस्ता वस्तु तथा चिजहरुमा लगानी आम रुपमा फाइदाजनक हुन्न । कारण यस्ता वस्तुमा गरिएको लगानीले तपाईंको कुल सम्पत्ति बढाउदैन, बरु उल्टो घटाइदिन्छ । 

आफन्त र साथीलाई उधारो दिनु
आफन्त र साथीभाईंलाई समस्या पर्दा सहयोग गर्नु हाम्रो धर्म हो, तर यस्तो सहयोग तपाईको मासिक बजेट वा बचतबाट कहिल्यै नगर्नुहोस् । आफन्त र साथीभाईले तपाईंले दिएको रकम समयमै फिर्ता गर्छन् भनेर कमै विश्वास हुन्छ । आफन्त र साथीभाई भन्ने सम्बन्ध नै यस्तो हुने भएकोले यी कुरामा विशेष चनाखो हुन जरुरी हुन्छ । त्यसकारण आफन्त र साथीभाईलाई समस्या पर्दा यति मात्र उधारो वा सापटी दिनुहोस् कि जति पैसा नहुँदा पनि तपाईंलाई खासै समस्या नपरोस् । अर्थात तपाईंको बजेट नबिग्रियोस् ।