काठमाण्डौ । पछिल्ला दिनमा स्वदेश तथा विदेशमा व्यापक रुपमा कारोबार विस्तार गर्दै बजार हिस्सा बढाइरहेको इसेवा मनी ट्रान्सफर र शाइन रेसुंगा डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ।

यस सम्झौतासँगै अब विदेशबाट इसेवामनी ट्रान्सफरमार्फत पठाएको रेमिट्यान्स् शाइन रेसुंगा डेभलपमेन्ट बैंकका नेपालमा रहेका कुनै पनि शाखा कार्यालयबाट भुक्तानी गर्न सकिनेछ। यसैगरी यस बैंकका खाता सञ्चालन भएका सम्पूर्ण ग्राहकले विदेशबाट पठाएको रेमिट्यान्स् सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सकिनेछ। 

शाइन रेसुंगा स्मार्ट अर्थात यस बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरेर इसेवा मनी ट्रान्सफरमार्फत नेपालभरि रहेका इसेवाका नेटवर्कमार्फत जुनसुकै ठाउँमा रेमिट्यान्स पठाउन र जुनसुकै ठाउँबाट पठाएको रकम प्राप्त गर्न सकिनेछ।

सम्झौतामा इसेवा मनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेस कोइराला र शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले हस्ताक्षर गरेका छन्। यस सम्झौताबमोजिम विदेशमा रहेका नेपालीले सिधै शाइन रेसुंगा डेभलपमेन्ट बैंकको खातामा पैसा पठाउन सकिनेछ र नेपालमा रहेका बैंकका ग्राहकले सेवा उपभोग गर्न शाइन रेसुंगा डेभलपमेन्ट बैंकको मोबाइल एप डाउनलोड गरी त्यहाँ रहेको रेमिट्यान्स् आइकनमा जानुपर्ने हुन्छ।

इसेवा मनी ट्रान्सफरले परम्परागत तथा डिजिटल माध्यमबाट इसेवावालेट प्रयोगकर्ताको र ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्र्याउँदै आएको छ। इसेवा मनी ट्रान्सफरले आफ्ना सेवाग्राहीलाई ८ हजारभन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ। 

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवा मनी ट्रान्सफर देशभरका १ करोड १० लाखभन्दा बढी जनसंख्या र १ लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।

शाइन रेसुंगा डेभलपमेन्ट बैंक नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त गरी सञ्चालनमा रहेको राष्ट्रियस्तरको विकास बैंक हो। लुम्बिनी प्रदेशको बुटवलमा प्रधान कार्यलय रहेको बैंकका हाल नेपालभरर कुल ८० वटा शाखा कार्यालय र एउटा एक्सटेन्सन कार्यालय तथा ७ वटा एटीएम छन्।