-भक्तराज रसाइली 
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डमा एक वर्षअघि ब्रोकरहरुले उपत्यका  बाहिर नयाँ शाखा विस्तारका दिएको आवेदन स्वीकृत हुने भएको छ । 

धितोपत्र बोर्डस्थित स्रोतका अनुसार ब्रोकर शाखा बिस्तारका लागि आजभोलि नै अनुमति दिइन लागिएको छ र थप शाखा विस्तारका लागि समेत अध्ययन थालिनेछ ।

नेपाल धितोपत्र बोर्डमा २०७४ सालमा ब्रोकरहरुले दुर्गम कार्य क्षेत्र अन्तर्गत उपत्यका बाहिर १४ स्थानमा ब्रोकर शाखा विस्तारका लागि आवेदन दिएका थिए । तिनीहरुलाई आजभोलि नै अनुमति प्रदान गर्न लागिएको बोर्डका सहप्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए । 

हालसालै शाखा विस्तारका लागि दिएका आवेदनका लागि भने ब्रोकरहरुका चुक्तापूँजी वृद्धि गर्दै आर्थिक सम्भाव्यता र सम्भावना बोकेका ठाउँमा थप शाखा विस्तारका लागि विस्तृत अध्ययन पश्चात् अनुमति दिन बोर्ड सकारात्मक रहेको सहप्रवक्ता घिमिरेले जानकारी दिए । 

ब्रोकर शाखाको क्राइटेरिया(मापदण्ड)मा समेत कानूनमै संशोधन गरी बोर्ड केही लचिलो हुनसक्ने घिमिरेले संकेत समेत गरेका छन् । 

अनलाइन ट्रेडिङ्ग लागू भएसँगै यसको देशव्यापी पहूँच वृद्धिको सम्भावनालाई आँकलन गर्दै बोर्डले थप शाखा विस्तारका लागि अध्ययन गरेर ब्रोकर शाखाहरुको विस्तार देशव्यापी बनाउन सकारात्मक बनेको हो।

यता, स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले अनलाइन आएको २ महिना भयो र लगईन दिन नेप्सेलाई समस्या नहुने देखेपछि ब्रोकर शाखा माग गरिएको जनाए । सिस्टमले पहिलेको जस्तो सीमित लगईन हुन्थ्यो, तर अनलाइनमा लगईन थप्दा समस्या नहुने देखेपछि नयाँ शाखा विस्तारमा आक्रामक बन्न लागिएको रानाभाट बताउँछन् ।

अनलाइन ट्रेडिङ्गकै कारणले लगानीकर्ताहरुको संख्या बढ्न सक्ने भएकाले उपत्यकाबाहिर धेरै संख्यामा जान लागिएको रानाभाटको दाबी छ ।

बजार विस्तार र विकासका लागि भनेर देशका विभिन्न स्थानमा हाल ४१ वटा शाखा पर्याप्त नहुने भन्दै ब्रोकरहरुले हालै थप ब्रोकर शाखा बिस्तारका लागि समेत बोर्डमा आवेदन दिएका छन् ।

अनलाइन ट्रेडिङ्ग आएसँगै लगानीकर्ताहरुको पहुँच वृद्धि हुने र संख्या बढ्ने हेतूले गत माघ ११ गते २५ जनाभन्दा बढी ब्रोकरहरुले देशका विभिन्न १ सय ६७ वटा ब्रोकर शाखा विस्तारका लागि बोर्ड र नेप्सेमा आवेदन दिएका हुन्।

उपत्यका बाहिर थप शाखा विस्तारका लागि अन्य ब्रोकरहरुले समेत आवेदन दिने क्रम बढिरहेको एसोसिएसनका कोषाध्यक्ष गुणनिधि भुषालले  जानकारी दिएका छन् ।

उपत्यकामा मात्र सीमित रहेको भन्ने आरोप लागिरहेका बेला ब्रोकरहरुले उपत्यका बाहिर ठूलो संख्यामा धेरै स्थानमा शाखा विस्तार गर्न लागिरहेको र बैंकहरुलाई ब्रोकर लाइसेन्स दिन लागेको बेला उनीहरुको आक्रमक ब्रोकर शाखा विस्तार रणनीतिलाई निकै रोचक ढंगले हेरिरहेको एक जानकारको भनाई छ ।