काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रचण्डले जनताको अवस्था शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधार गरेर मात्र बदल्न सम्भव हुने बताएका छन्। 

दिवंगत नेता गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीको अवसरमा सोमबार जीपी कोइराला मेमोरियल कलेजद्वारा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो धारणा राखेका हुन्। उनले विश्वका विकसित देशका राजनेताहरुले पनि आफ्नो देशको प्राथमिकताका बारेमा शिक्षालाई लिने गरेको बताए। ‘हामीले शिक्षालाई जुन प्रकारको महत्व दिनुपर्ने हो त्यो नभएको भन्ने कुरामा म सहमत छु’, उनले भने। 

दिवंगत नेता कोइरालालाई सम्झँदै प्रधानमन्त्री दाहालले परिपक्व, राजनीति सुझबुझ र दुर्दृष्टि भएका व्यक्तित्वका धनी नेता भएको बताए। कोइरालाको राजनीतिक सुझबुझ र दूर्दृष्टिकै कारण अहिलेको परिवर्तन सम्भव भएको उनको भनाइ थियो। ‘शान्ति, संविधान र समग्र प्रक्रियाको रक्षा गर्ने कुरामा धेरै ठूलो दायित्व छ’, उनले भने, ‘यसका प्रेरणाको स्रोत गिरिप्रसाद कोइराला हो।’ 

प्रधानमन्त्री दाहालले अहिले गणतन्त्रको छोटो समयमा हिजोकै केन्द्रीकृत राजतन्त्र ठीक हो कि भनेर प्रश्न उठाउने कोसिस भइरहेको बताए। ‘गिरिजाप्रसादको पार्थिव शरीर अगाडि गरेको संकल्प, त्यो दिन जनताको भाव, लाखौँको जनसागरलाई यति छिटै बिर्सने र पुरातनतिर फर्कन खोज्ने हामी नेपालीको दृष्टि के हो भन्ने आम प्रश्न पनि छ’, उनले भने, ‘हामीले व्यवस्था बदल्न साहस गर्यौं, जनताको अवस्था बदल्न सकेनौँ, त्यसमा आत्मसमीक्षा गर्न जरुरी छ।’ 

कोइरालाको चाहनाविपरीत कतिपय निर्णय गर्दा पनि आफूप्रति विश्वास गर्न नछोडेको उल्लेख गर्दै दाहालले कोइराला नभएको भए गणतन्त्र आउन नसक्ने पनि उल्लेख गरे। बिरामी भएर अस्पतालमा मृत्युसँग जुधिराहेका बेला कोइरालाले आफूलाई एक्लै बोलाएर देशको जिम्मा लगाएको पनि उनले स्मरण गरे।