Bull market
काठमाण्डौ । आइतबार र सोमबार वाणिज्य बैंकको बर्चश्व रहेको बजारलाई शिखर इन्स्योरेन्सको उच्च कारोबारले प्रभावित बनाइदिएको छ ।
वाणिज्य बैंककै हाराहारीमा बिमा समूहको कारोबार पुग्नुमा शिखरको महत्वपूर्ण योगदान रह्यो । शिखर लगायतका क वर्गका राम्रा कम्पनीमा लगानीकर्ता थुप्रिदा मंगलबार बुल भएको बजार दोहोरो अंकले उक्लियो । १८.१ अंकले बढेर नेप्से १७९८.५० अंकको उचाईमा पुगेको छ ।
शिखर इन्स्योरेन्सको सोमबार साँझ सम्पन्न बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई हालसम्मकै सर्वाधिक ६० प्रतिशत लाभांश वितरणको निर्णय गरेसँगै यो कम्पनीले बजारमा तहल्का मच्चाइदिएको हो ।
नेप्सेका दुई समूह बाहेक सबै समूह हराभरा भएका छन् । सबैभन्दा बढी बिमा समूहको सूचकले फड्को मारेको छ ।
बिमा समूह एकैदिन २३१.८३ अंकले उक्लियो भने वाणिज्य बैंकमा १७.३६ अंकको बढोत्तरी भयो । होटल समूह ५३.८ अंकले बढ्दा विकास बैंक समूह ७.७३, जलविद्युत २२.४८ अंकले उक्लिए । अन्य समूहमा ५.४९ अंकको गिरावट देखियो भने बित्त समूह २.१९ अंकले घट्यो ।
‘क’ वर्गका कम्पनीमा लगानीकर्ताको आकर्षण देखिँदा सेन्सेटिभ इण्डेक्स ३.८ अंकले बढ्यो भने फ्लोट इण्डेक्समा १.४६ अंकको बढोत्तरी देखियो ।
मंगलबार १ सय २७ कम्पनीका १० लाख २७ हजार २ सय ३७ कित्ता सेयर १ अर्ब १२ करोड ८७ लाख रुपैयाँमा किनबेच भयो ।
सबैभन्दा बढी वाणिज्य बैंक समूहको करिब ४९ करोडको कारोबार भयो भने शिखर इन्स्योरेन्सका कारण बिमा समूहले पनि साढे ४५ करोडको कारोबार गर्यो ।
धेरै कारोबार गर्ने कम्पनी
हालसम्मकै सर्वाधिक ६० प्रतिशत बोनस वितरणको निर्णयका कारण शिखर इन्स्योरेन्सको सेयरमा अचाक्ली भीड देखियो । यो कम्पनीले मात्र २० करोड ६१ लाख बराबरको कारोबार गर्यो । एनबी बैंकले १७ करोड १७ लाखको कारोबार गर्दा एभरेष्ट बैंकको ९ करोड ६२ लाख बराबरको सेयर किनबेच भयो ।
नेपाल लाइफले ४ करोड ९ लाख, प्रभू इन्स्योरेन्सले ३ करोड ६२ लाख, नेपाल एसबीआई बैंकले ३ करोड १५ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सले २ करोड ८० लाख, सिद्धार्थ इन्स्योरेन्सले २ करोड ६९ लाखको कारोबार गरे । प्रभू बैंकको २ करोड ३८ लाखको प्रोमोटर सेयरको पनि किनबेच भएको बजारमा नेपाल इन्भेष्टमेन्ट बैंकले पनि २ करोड बढीको कारोबार गर्यो ।
धेरै कमाउने र गुमाउनेहरु
मंगलबार ५ कम्पनीका सेयरधनी मालामाल भए । बैंक अफ काठमाण्डू लुम्बिनी लिमीटेडको सेयर मूल्य आइतबार र सोमबार झै मंगलबार पनि १० प्रतिशतले वृद्धि भयो । कुमारी बैंक लिमीटेड र प्रभू बैंकको सेयरमा पनि १० प्रतिशतकै हाराहारीले वृद्धि भयो । ज्योति विकास बैंकले ९.३३ प्रतिशतले सम्पत्ति बढायो भने सानिमा माइ हाइडो पावर लिमीटेडको सेयर मूल्यमा ९ प्रतिशतको वृद्धि भयो ।
बुल बजारमा तीन कम्पनीको सेयर मूल्य ४ प्रतिशतको हाराहारीमा घट्यो । महिला सहयात्रा माइक्रोफाइनान्स बित्तीय संस्था, लुम्बिनी फाइनान्स लिमीटेड र राप्तिभेरी विकास बैंकको सेयर मूल्य ४ प्रतिशतको हाराहारीमा घटेको हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago