काठमाण्डौ । निर्जीवन बिमा कम्पनीहरुमध्येको टप मानिने शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ३१ करोड बढी खूद नाफा आर्जन गरेको छ । 
गत वर्ष यो कम्पनीको नाफा २६ करोड ६३ लाख रुपैयाँ रहेको थियो । यो हिसाबले नाफामा कम्पनीले १६.४१ प्रतिशतको बढोत्तरी गरेको देखिएको छ । 
समीक्षा अवधिमा कम्पनीले २ अर्ब ४५ करोड ९२ लाख कुल बिमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी २ अर्ब ३९ लाखमा सीमित थियो ।

गत वर्ष यही अवधिमा २ लाख ९ हजारमा सीमित जारी बिमा लेखको संख्या बढाएर यो वर्ष २ लाख १५ हजार ६ सय २ पुर्याएको कम्पनीले यो अवधिमा ८६ करोड बढी दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष कम्पनीको दाबी भुक्तानी ८३ करोड रुपैयाँ रहेको थियो ।

यो अवधिमा कम्पनीले पुनर्बिमा कमिसनबाट २५ करोड ७७ लाख आम्दानी गरेकोछ भने लगानी कर्जा तथा  अन्यबाट हुने आय १० करोड ९४ लाखको उचाईमा पुगेको छ । अघिल्लो वर्ष पुनर्बिमा कमिसनबाट हुने आय २० करोड ४६ लाख तथा लगानी कर्जा तथा अन्यबाट हुने आय ६ करोड ६५ लाखमा सीमित थियो । 

कम्पनीको जगेडाकोषमा भने ठूलै पहिरो गएको छ । अघिल्लो वर्ष यही अवधिमा २४ करोड ६३ लाख रुपैयाँ रहेको जगेडाको आकार घटी समीक्षा अवधिसम्म १८ करोड २० लाखमा खुम्चिएको हो । यो हिसाबले जगेडाकोष २६.११ प्रतिशतले खिइएको देखिएको छ ।

अघिल्लो वर्ष ५९ करोड १५ लाखमा सीमित बिमा कोष बढेर यो वर्ष ७९ करोडको उचाईमा पुगेको छ भने महाविपत्ति कोष ३ करोड ४६ लाखबाट वृद्धि भई ५ करोड २९ लाखको उचाईमा पुगेको छ ।

समीक्षा अवधिमा शिखर इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ३९.६६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९६.९७ रुपैयाँ र मूल्य आम्दानी अनुपात २५.५४ गुणा कायम भएको छ ।