 
                     
                                
                             
                                    काठमाण्डौ । शिवम सिमेन्ट र त्यहाँका केही संस्थापकहरुको मिलेमतोमा सोझा लगानीकर्तालाई सुनियोजित रुपमा फसाउने खेल भएको छ ।
एकातर्फ शिवम सिमेन्टले नै लगानीकर्ताहरुमा झूठको खेती गरी फसाउने काम गरेको छ भने अर्कोतर्फ कम्पनी निकटका संचालक र गिरोहको मिलेमतोमा महङ्गोमा सेयर भिडाएर आफू मालामाल हुने र सोझा लगानीकर्तालाई फसाउने षड्यन्त्र भएको छ ।
शिवम सिमेन्टको अपरिपक्व संचालक समिति र व्यवस्थापनकै कारण पछिल्लो समय यो कम्पनी एकपछि अर्को संकटमा फस्दै गइरहेको छ । सर्वसाधारणलाई महङ्गोमा एफपीओ भिडाएर पनि दोश्रो बजारमा पर्याप्त चलखेल गरी तथा अनेकन झूठा आश्वासन दिएर सोझालाई फसाउने काम भएको स्वयम् लगानीकर्ता बताउँछन् ।
पछिल्लो समय नेपाल विद्युत प्राधिकरणले यो कम्पनीले १ अर्ब बढी बिजुलीको बक्यौता तिर्न ताकेता गरिरहेको छ । ४.४ अर्ब चुक्तापूँजी रहेको शिवम सिमेन्टका लागि १ अर्ब रुपैयाँ २१ करोड १४लाख रुपैयाँको अतिरिक्त व्ययभार सिर्जना हुनु निकै दुःखद खबर रहेको लगानीकर्ताको बुझाई छ । प्राधिकरणलाई यो कम्पनीले बिजुलीको बक्यौता तिर्नुपर्ने अवस्था सिर्जना भएपछि यसले आगामी दिनमा लगानीकर्ताहरुलाई दिनसक्ने लाभांश ह्वात्तै घट्ने विश्लेषण गरिएको छ ।
त्यसो त यो कम्पनीले एफपीओ जारी गरेलगत्तै नगद लाभांशसँगै यो वर्ष बोनस सेयर दिने प्रलोभन बाँडेको थियो । यही प्रलोभनमा परेकाहरुले शिवमको एफपीओमा लगानी गरेका थिए । प्रिमियम मूल्यसहित जारी भएको एफपीओमा लगानी गर्नेहरुले एफपीओ लगत्तै नगद लाभांश र त्यसपछि पनि नगद लाभांश मात्र प्राप्त गरे । प्रतिकित्ता ३०० रुपैयाँ भन्दा बढीमा एफपीओ किनेकाहरुले करिब २ वर्षको अवधिमा प्रतिकित्ता ३० रुपैयाँ दरले मात्र रिटर्न पाएका छन् । यो भनेको एफपीओमा लगानी भएको मूल्य हिसाबले १० प्रतिशत मात्र रिटर्न हो । लगानीकर्ताले यसलाई धोकाधडी भनेका छन् ।
‘पहिला शिवमका संचालकहरुले पहिलो वर्ष नगद लाभांश र दोश्रो बर्ष बोनस सेयर दिने हौवा पिटाए ।’ लगानीकर्ताहरु भन्छन्–‘तर फेरि पनि नगद लाभांश आयो, त्यो पनि निकै न्यून । झूठको खेती गरेर हामीजस्ता सोझालाई फसाउने काम भयो ।’
लगानीकर्ताहरुले शिवम् सिमेन्टको सेयर महङ्गोमा किनेर पालिरहँदा आफूहरुलाई घाटा भएको, बरु बजारमा २ सय रुपैयाँ आसपास मूल्य भएका स्क्रिप्टहरुले राम्रो रिटर्न दिएका भन्दै आफूहरुले गल्ती गरेको समेत स्वीकार गरेका छन् । तर, फसि नै सकेपछि गल्ती गरेको स्वीकार गर्नुको कुनै तुक नहुने उनीहरु आफैं दाबी गर्छन् ।
एफपीओको प्रिमियम खोई ?
बजार लगातार बढिरहँदा ब्रोकर हाउसमा भेटिएका लगानीकर्ताबीच शिवमको विषयमा चासो र चिन्ता दुवै भेटिएको छ । उनीहरुले शिवम सिमेन्टले अनेकन हौवा फैलाएर एफपीओ महङ्गोमा बिक्री गरेको, तर लगानीकर्तालाई धोकाधडी गरी करोडौं सम्पत्ति डूबाउने खेल भएको गुनासो गरिरहेका छन् । उनीहरुले शिवमले एफपीओबाट उठाएको प्रिमियम कहाँ खर्च गर्यो भन्ने बिषयमा अहिलेसम्म प्रष्ट पार्न नसकेको र लगानीकर्ता अन्यौलमा रहेका समेत दाबी गरेका छन् । ‘सुनियोजित ढंगले एफपीओको नाममा लुट्ने खेल भयो ।’ लगानीकर्ताहरु भन्छन्–‘खुलेआम यस्तो खेल हुँदा समेत कसैले चासो दिएन ।’ 
होङ्सीको विवरण खोई ?
लगानीकर्ताहरुले शिवम सिमेन्टको मूल्यमा गिरावट आउन थालेसँगै उसले होङ्सीमा गरेको लगानीको यथार्थ विवरण बाहिर ल्याउन माग गरेका छन् । 
‘शिवम संचालन गर्ने समूहको ३० प्रतिशत लगानी होङ्सीमा रहेको सुनिएको मात्र हो । होङ्सीको वित्तीय विवरण धेरै खोजियो, तर कसैले पाउन सकेको छैन । यो हामीमाथिको अर्को धोकाधडी र अन्याय हो ।’ ब्रोकर हाउसमा भेटिएका लगानीकर्ताले भने–‘एफपीओ किन्नु पछाडिको एउटा कारण होङ्सीमा समेत लगानी गरेकोले राम्रो रिटर्न आउने अपेक्षा थियो, तर त्यो कम्पनीको ब्यालेन्ससिट नै अहिलेसम्म बाहिर ल्याइएको छैन, सबै कुरा शंकास्पद छन् ।’ 
शिवम सिमेन्ट २०६० सालमा स्थापना भएको कम्पनी हो । प्राइभेट कम्पनीको रूपमा स्थापना भएको शिवम २०७२ सालमा आएर पब्लिक कम्पनीमा परिणत भएको हो । हेटौँडामा स्थापना भएको शिवम् सिमेन्ट २०६७ पछि भने व्यवसायिक उत्पादनमा सक्रिय बनेको थियो ।
यस कम्पनीको कारखाना मकवानपुरको हेटौंडा उपमहानगरपालिका हटियामा अवस्थित छ । कम्पनीको सहायक कम्पनी शिवम् होल्डिङ प्राइभेट लिमिटेडमा ८८ प्रतिशत शेयर लगानी छ ।
शिवम् होल्डिङ प्राइभेट लिमिटेड र चीनको होङ्सी होल्डिङ समूहले नवलपरासीको सर्दीमा स्थापना गरेको होङ्सी शिवम् सिमेन्ट प्रालिमा शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ प्राइभेट लिमिटेडमार्फत नेपाली समूहको ३० प्रतिशत र होङ्सी होल्डिङ चिनियाँ समूहको ७० प्रतिशत लगानी रहेको छ । तर, होङ्सीको उत्पादन क्षमता उच्च रहेको भनिए पनि यसको वित्तीय अवस्थाको विषयमा कुनै पनि विवरण सार्वजनिक गरिएको छैन ।
एफपीओ बिकाउन गलत प्रचार
उत्पादनका हिसाबले पनि शिवम् सिमेन्ट सकारात्मक देखिएको र यसले क्लिंकर तथा सिमेन्ट उत्पादनको क्षमता वृद्धि गर्दै आएको भनी एफपीओ बिक्री गराउने बेला खूबै प्रचार गरिएको थियो । 
त्यसबेला शिवम् सिमेन्ट आफंैमा रामो ब्रान्ड बनाउन सफल हुनु तथा अन्य सिमेन्टभन्दा गुणस्तरीय रहेकाले छिटो समयमा राम्रो प्रतिफल दिने सम्भावना भन्दै हौवा पिटाइएको थियो । तर, शिवमले लगानीकर्तालाई निराश पार्ने बाहेक केही काम गरेन ।
शिवम् सिमेन्टको शुरू संचालनको समयमा ग्रान्डिङ प्रतिदिन ७ सय टन क्षमताबाट २०१६ मा ५५ करोड थप लगानी गरी प्रतिदिन २३ सय टन पुर्याएको थियो । त्यस्तै २०१८ मार्चसम्म आउँदा ६५ करोड थप लागतमा प्रतिदिन ३ हजार टन पुगेको भनिए पनि वास्तविकता त्यस्तो नरहेको समेत कम्पनीस्थित स्रोतहरु नै बताउँछन् ।
पछिल्लो समय सिमेन्टको भाउ घट्दै गएका कारण यो कम्पनीको आम्दानीमा समेत गिरावट आइरहेको छ । एकातिर आम्दानी घट्दै जानु र अर्कोतर्फ निकै ठूला आकारका दायीत्व सिर्जना हुनुले यो कम्पनीले आगामी दिनमा समेत राम्रो रिटर्न दिन्छ भन्ने कुरामा लगानीकर्ता विश्वस्त भेटिएनन् । 
 
कति पुग्ला मूल्य ?
केही समयअघि शिवम् सिमेन्टको सेयरमा तीव्र कर्नरिङ गरी मूल्य अस्वभाविक रुपमा बढाउने खेल भएको थियो। निकै धेरै कित्ता सेयर उठाउने कम्पनीका संचालक समितिका केही सदस्य र ती निकटका गिरोहहरुले नै यो खेल खेलेका थिए। महङ्गो मूल्य बनाई आफूसँग भएको सेयर बिक्री गरी उनीहरुले करोडौं कमाउने सफलता पाए । त्यसपछि भने कम्पनीको मूल्य निरन्तर घटिरहेको छ । 
दोश्रो बजारमा शिवम सिमेन्टको मूल्य घटेर एफपीओ मूल्य नजिक पुग्ने संभावना बलियो बनेर गएको अनुभवी लगानीकर्ताहरु बताउँछन् । ब्रोकर हाउसमा शिवम किन्ने भन्दा पनि बिक्री गर्नेको संख्या धेरै देखिएको छ । शिवमको ठूलो कित्ता सेयर बोकेर बसेका लगानीकर्ताहरु नै भन्छन्–‘यो कम्पनीको दोश्रो बजार मूल्य ३०० रुपैयाँ हाराहारीमा झर्ने अवस्था देखियो ।’ यो समाचार तयार पार्दासम्म शिवमको मूल्य घटेर प्रतिकित्ता ३६३ मा सीमित बनिसकेको छ ।
बिग्रदो स्वास्थ्य
यो कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफामा तीव्र गिरावट आएको छ । अघिल्लो वर्षको यही अवधिमा ३७ करोड १४ लाख नाफा कमाएको कम्पनीको नाफा घटेर यो वर्ष १९ करोड ८६ लाखमा सीमित बन्न पुगेको छ । यो भनेको नाफातर्फ करिब ४७ प्रतिशतको गिरावट हो ।
अघिल्लो वर्ष यही अवधिमा २ अर्ब ७२ करोड आम्दानी गरेको कम्पनीले त्यो घटेर २ अर्ब ४ करोडमा सीमित बन्न पुगेको देखिन्छ ।
पहिलो त्रैमाससम्म कम्पनीको प्रिमियमा ९४ करोड रुपैयाँ मात्र छ । विद्युत प्राधिकरणको बक्यौता तिर्नलाई उसको प्रिमियमले समेत भ्याउदैन । त्यसमा अन्य नाफा समेत जाने भएकोले यो वर्ष राम्रो रिटर्न आउने त कुनै संभावना नै देखिन्न ।
एकातिर नाफा तथा आम्दानी घट्नु, अर्कोतर्फ प्रिमियमले समेत नपुग्ने खालको दायीत्व सिर्जना हुनु, सिमेन्टको बजार समेत खस्किएर जर्जर अवस्थामा पुुग्नुले समेत शिवमको लगानी अझै बढी जोखिममा पर्नसक्ने विश्लेषकहरु बताउँछन् ।
आम्दानी तथा नाफा घटेकै कारण शिवमको वार्षिकीकृत प्रतिसेयर आम्दानी पनि घटेर १८ रुपैयाँ ६ पैसामा सीमित बन्न पुगेको छ ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19