काठमाण्डौ । दुईवटा ब्रोकर कम्पनीबाट मात्रै शिवम् सिमेन्टका लाखौँ कित्ता सेयर बिक्री भएको तथ्य बाहिर आएको छ।
बजारमा लगानीकर्ताले शिवम् सिमेन्टमा तीव्र चलखेल भइरहेको चर्चा चलिरहँदा १३ लाख बढी कित्ता सेयर दुईवटा ब्रोकरबाट मात्रै बिक्री गरिएको तथ्य बाहिर आएको हो। ती सेयर एक महिनामै बेचिएको तथ्यांकले देखाउँछ।
एक सफ्टवेयरमार्फत ब्रोकर कम्पनीले गरेको कारोबारको ब्रोकर होल्डिङ र ट्रेडर फ्लोर सिट हेर्दा श्रीकृष्ण सेक्यरिटिज (ब्रोकर नं. २८)बाट मात्रै ८ लाख ४४ हजारभन्दा बढी कित्ता खरिदभन्दा बिक्री बढी देखिन्छ।
त्यसैगरी लगानीकर्ताले तीव्र चलखेल गर्ने ब्रोकर भनेर चिनिने नासा सेक्युरिटिज (ब्रोकर नं. ५८) बाट पनि ४ लाख ५३ हजार कित्ता सेयर बेचेको बिजशालाले खोजतलासका क्रममा फेला पारेको छ।
यी दुई ब्रोकरले सेयर बेचिरहँदा अन्य २० वटा ब्रोकरबाट कारोबार गर्ने लगानीकर्ताले उच्च मात्रामा होल्ड गरेको देखिएको छ। ‘दुईवटा ब्रोकरले एकहोरो शिवम सिमेन्टको सेयर बेच्दा २० वटा ब्रोकरका सोझा लगानीकर्ता फसेका छन्’, लगानीकर्ता टेकेन्द्र पाठकले भने।
बजारमा अझै शिवम सिमेन्टको स्थानीयको सेयर पनि आउँदै गरेकोले सेयरभाउ अझै तल आउन सक्ने पाठकको अनुमान छ।
यो कम्पनीको सेयरभाउ दोस्रो बजारमा पछिल्लो समय उच्च मूल्य १७०० रुपैयाँबाट लगातार घटेर ७०० रुपैयाँभन्दा तल आएको छ। जसका कारण बजारमा सर्वसाधारण लगानीकर्ता फसेका छन्।
शिवम् सिमेन्टको कुल ४ करोड ४० लाख कित्ता सेयर रहेकोमा गत वर्ष लकिङ पिरियड खुलेर ७० प्रतिशत सर्वसाधरणमा र ३० प्रतिशतमात्रै प्रमोटरको कायम भएको थियो। कम्पनीका प्रमोटरहरुले लकिङ पिरेड खुलेपछि हुन आउने ७० प्रतिशत सेयर अर्थात ३ कारोड ८ लाख कित्ता दोस्रो बजारमा बेचेर अर्बौंको रुपैयाँ कुम्लाएको बजारमा चर्चा छ।
प्रमोटरहरुले कम्पनीले ११ करोड बोरा सिमेन्ट बेचेको भनेर बजारको माहौल तयार गरेका बजार जानकारहरु नै बताउँछन्। ‘धेरै बोरा बेचेर राम्रै नाफा कमाएको, हकप्रद पनि ल्याउने र राम्रो बोनस पनि दिने भनेर हल्ला चलाइएको थियो’, एक बजार जानकारले भने।
प्रमोटरहरुले कम्पनीको भित्री सूचना लिएर सेयर सल्टाई त्यसपछि मात्र चौथो त्रैमासको वित्तीय विवरण प्रकाशनको चाँजोपाजो मिलाएको ती बजार जानकारको भनाइ छ। ‘यसले प्रमोटरले भित्री सूचनामा पहुँच कायम गरी अर्बौं रुपैयाँ कमाउने सफलता भए’, ती जानकारी भने, ‘तर, सर्वसाधारण र सोझाको त्यस्तो पहुँच नहुँदा उनीहरुले अर्बाैं गुमाउने अवस्था बन्यो।’
शिवमका प्रमोटरले जति सेयर बेचेर बाहिरिए, त्योमध्ये धेरै पैसा विदेसिएको हुन सक्ने आशंका पनि गरिएको छ। ‘कमजोर अवस्थाका कम्पनीको सेयर सस्तोमा कसरी सर्वसाधारणलाई भिडाइन्छ र रियल सेक्टरका कम्पनीलाई दोस्रो बजारमा भित्र्याउने नाममा कसरी ठूला र पहुँचवालाले लुट मच्चाउँछन् भन्ने विषयको पछिल्लो उदाहरण शिवम सिमेन्ट बनेको छ’, अर्का एक बजार जानकारले भने।
यो पनि पढ्नुहोस्ः शिवमका प्रमोटरको लुटधन्दा-१: एघार करोड बोरा बेचेको भन्दै माहौल बनाए, सोझालाई सेयर भिडाएपछि वित्तीय विवरण ल्याए
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19