-भक्तराज रसाइली 
काठमाण्डौ । शिवम सिमेन्ट लिमिटेडको सेयर चलखेलमा विगत केही हप्तादेखि निरन्तर खरीद गरी ठूलो परिमाणमा सेयर उठाएको  ब्रोकर नम्बर ५८ सोमबारदेखि बिक्रीमा आक्रामक देखिएको छ । 

धेरै दिनदेखि दैनिकजसो शिवमको सेयर कर्नरिङ्ग गरिरहेको ब्रोकर नम्बर ५८, नासा सेक्युरिटीजले सोमबारदेखि भने बिक्रीमा अग्रेसिभ मूभ लिएको नेप्सेको फ्लोरसिटमा देखिन्छ । 


बिजशाला स्रोतका अनुसार शिवमको सेयर उठाउन सो ब्रोकर हाउसेजमा उर्दी नै जारी गरी ठूला लगानीकर्ताहरुलाई विशेष गरी सेयर उठाउन आह्वान गरिएको थियो । 

गिरोह नै बनाएर सोझा लगानीकर्ताहरुलाई डुबाउने खेलमा उद्यत रहेको सो ब्रोकर हाउसबाट आज नेप्सेको फ्लोरसिटमा यो समाचार तयार पार्दासम्म शिवमको ४ हजार ३५२ कित्ता खरीद गरेकोमा ६७ हजार १४८ सय कित्ता बिक्री गरिसकेको छ । 

शिवमको सेयर कर्नरिङ गरी बजारबाट उठाउँदै आएको नासाबाट आज शिवमको ६ सय ६८ उच्च मूल्यसम्म कारोबार भएकोमा अहिले ६ सय ४० मा किनबेच भइरहेको छ । 

कृत्रिम माग सिर्जना गर्दै उचालेर उच्च मूल्यमा बेच्ने प्रचलन सेयर बजारमा नौलो भने होइन । यसरी कुनै कम्पनीको सेयरमा उतारचढावको सिकारमा स्वयम् लगानीकर्ताहरु सचेत हुन आवश्यक छ ।