काठमाण्डौ । साताको अन्तिम दिन आज बिहीबार नेप्से सूचकांक नकारात्मक गिरावटसँगै बन्द भएको छ । बिस्तारै लगानीकर्ताहरुमा सेयर खरिदबिक्रीको तेज बढिरहेका बेला केही दिन अघिदेखिको नेप्सेको बढोत्तरीमा नाफा बूकतर्फ ध्यान जाँदा नेप्से सूचकांक नकारात्मक बनेको हो ।

धितोपत्र बजारमा सेक्टरवाइज लगानी गरी केही सीमित सेयर आपूर्ति भएका सेयरहरुमा सक्रियताको होड चलिरहँदा बजार आज शिवममय बनेको छ । १२ प्रतिशतमात्र आइपीओ जारी गरेको शिवम सिमेन्टमा ९ करोड बढीको कारोबार सम्पन्न भयो । केही ठूला ब्रोकरहाउसका सक्रिय लगानीकर्ताहरुले अल्पकालीन नाफा बूक गर्ने मनोविज्ञान हावी हुँदा राम्रो स्क्रिप्टका रुपमा  थोरै मुनाफा लिन सक्ने दाउमा उच्च कारोबार भइरहेको देखिन्छ । यता सेयर प्राविधिक विश्लेषकहरु पनि सर्टटम प्रफिटका लागि उपयुक्त सेयर भएको ठहर गर्दै र आगामी दिनमा पनि अझै चल्ने स्क्रिप्ट र ५० रुपैयाँसम्म पूँजीगत लाभ लिन सकिने सुझाइरहेका भेटिन्छन् ।

साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से सूचकांक हिजोका तुलनामा ३.२९ अंकले गिरावट आउँदा ११६६.२१ अंकमा अडिएको छ भने सेन्सेटिभ इण्डेक्स १.१० अंकको घटाइले २५२.१८ अंकमा सीमित बन्न पुग्यो ।

साताको पाँचौ दिन आज नेप्सेमा सूचीकृत कम्पनीमध्ये १७० कम्पनीका १६ लाख ६० हजार ४०६ कित्ता बराबर ५३ करोड २२ लाख ११ हजार २११ रुपैयाँ कारोबार भयो ।

यसदिन नेप्सेको १२ उपसमूहमध्ये ९ उपसमूह नकारात्मक रहे भने बाँकी ३ उपसमूह जलविद्युत्,उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहमा भने हरियाली छायो । हिजो बुधबार होटल्स उपसमूहमा ९.२२ प्रतिशतले वृद्धि आज भने कायम हुन सकेन । हिजो बुधबार एकाएक होटल्स समूह चम्के पनि आज भने ३.६६ प्रतिशतले गिरावट आयो । 

सबैभन्दा धेरै कारोबार भएको कम्पनी

आज सबैभन्दा धेरै कारोबार भएको कम्पनीमा शिवम सिमेन्टले पकड जमाएको छ । शिवमको मात्र सबैभन्दा बढी कित्ता १ लाख ८८ हजार १३० कित्ता बराबर ९ करोड २१ लाख हाराहारीको कारोबार भयो भने नेपाल लाइफले पनि ३ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार गर्दै दोस्रो स्थान कायम राख्यो । यसैगरी प्रभू बैंकको संस्थापक सेयर,डिप्रोक्स लघुवित्त र हिमालयन डिष्ट्रीलरीका क्रमशः २ करोड ३५ लाख रुपैयाँ,२ करोड १४ लाख रुपैयाँ र १ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भयो । एनआइसी एशिया बैंक,सोल्टी होटल,प्रोगेसिभ फाइनान्सको संस्थापक सेयर,नागरिक लगानी कोष र नबिल बैंक सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीमा दरिए ।

सबैभन्दा धेरै कमाउने कम्पनी

आज बिहीबार जोशी हाइड्रोपावरका सेयरधनी सबैभन्दा धेरै मालामाल बने । यो कम्पनीको सेयरमूल्य  ८.३३ प्रतिशतले बढेको छ ।
सबैभन्दा धेरै गुमाउने कम्पनी
सबैभन्दा धेरै गुमाउनेमा एचआइडीसीएलका सेयरधनी बने । यस कम्पनीको सेयरमूल्यमा ७.५९ प्रतिशतले पहिरो नै गएको छ । यो कम्पनीले भर्खरै गतवर्षको नाफाबाट १२ प्रतिशत नगद लाभांश दिने प्रस्तावसमेत गरिसकेको छ । सोही प्रस्तावले १३२ रुपैयाँ वरिपरि घुमिरहेको यो सेयर १४८ रुपैयाँ हाराहारीसम्म पुगेको थियो ।