काठमाण्डौ । दोश्रो बजारमा कारोबारमा आएको तेश्रो दिन पनि शिवम सिमेन्टको सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

मंगलबार कारोबार खुलेको केही मिनेटमै शिवम सिमेन्टको मूल्य १० प्रतिशतको हाराहारीमा घटेपछि नेगेटिभ सर्किट लागेको हो । 

यो दिन पनि नेगेटिभ सर्किट लागेपछि कम्पनीको सेयर मूल्य आइपीओ निश्कासन भएको नजिकउन्मुख भएको छ ।  

यो दिन समेत शिवम सिमेन्टको सेयरमा खरीद अर्डर शून्य छ भने ४९ हजार २७० कित्ता भन्दा बढी बिक्रीमा राखिएका छन् । 

बजार खुलेदेखि नै शिवम सिमेन्टको निकै ठूलो कित्ता सेयर बिक्री अर्डरमा राखिएको थियो । 

आइतबारदेखि दोश्रो बजारमा कारोबारमा आएको यो कम्पनीको सेयर मूल्यमा सोमबार पनि नेगेटिभ सर्किट लागेको थियो । 

शिवम सिमेन्टको पहिलो कारोबार आइतबार प्रतिकित्ता ४६४ रुपैयाँमा भएको थियो । त्यसपछि मूल्यमा निरन्तर पहिरो गइरहेको छ । मंगलबार नेगेटिभ सर्किट लागेसँगै शिवमको मूल्य ३४० रुपैयाँमा सीमित बन्न पुगेको छ । 

नेप्सेले यो कम्पनीको सुरुवाती रेञ्जमा अधिकतम मूल्य ४८४ तोकेको थियो ।

शिवम सिमेन्टले सर्वसाधारणलाई प्रिमियमसहित प्रतिकित्ता ३०० रुपैयाँको दरले आइपीओ बिक्री गरेको थियो । 

यस्तै, आयोजना प्रभावितलाई प्रिमियमसहित २०० रुपैयाँको दरले आइपीओ बेचेको थियो ।