काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा तीव्र मोलमोलाइ भएको छ । केही सेयरहरुमा खेलाडीहरुले दिनभर निकै राम्रो ढंगले खेले भने सुरुआती समयमा बढेको बजारको फाइदा उठाउँदै अन्तिम समयमा बिक्रीचाप बढ्दा नेप्से परिसूचक भने २.३७ अंकले घट्यो । 

भाउ बढेका कम्पनीहरुमा उच्च बिक्रीचापका कारण नेप्से घटे पनि कारोबार रकम भने सवा अर्बको हाराहारीमा पुगेको छ । नेप्सेमा देखिएको सामान्य करेक्सन र कारोबार रकममा आएको उछालले बजारमा अझै तीव्र सुधार हुने आशा लगानीकर्तामा सञ्चार भएको छ ।

अघिल्लो साताको अधिकांश समय प्रफिट बुकिङका कारण घटेको बजारमा यो साता भने बढोत्तरीको शृंखला पुनः सुरु भएको सोमबार र मंगलबारको बजारको अवस्थाले देखाउँछ ।

मंगलबार लगानीकर्ताहरुबीच शिवम् सिमेन्टको सेयरमा तीव्र मोलमोलाइ चल्यो । कारोबार सुरु भएदेखि बढेर करिब पोजेटिभ सर्किटनिकट पुगेको शिवमको मूल्य दिनभर उतारचढावमै अल्झिएको थियो । सुरुआती समयमा उचालिएर शिवमको सेयर किन्नेहरु बजार बन्द हुँदा पछुताउनुपर्ने अवस्था सिर्जना भएको छ । जानकारहरुले केही दिनअघि देखिएको झैँ मंगलबार पनि शिवमको सेयरमा निश्चित समूहले खेल्ने काम गरेको दाबी गरेका छन् ।

यो दिन बुक क्लोजको मिति घोषणा गरेको नेपाल बैंकमा समेत खरिदबिक्रीको चाप देखियो । नागरिक लगानी कोष, साल्ट ट्रेडिङ कर्पोरेसन, हिमालयन डिस्टिलरी र एचआईडीसीएलका सेयरसमेत आकर्षणको केन्द्रमा रहे ।

यो दिन मूल्य घटेर न्यून विन्दुमा सीमित भएका केही जलविद्युत् कम्पनीको सेयरमा खरिदचापसमेत देखियो ।

आजको दिन नेप्से इन्डेक्स हिजोको तुलनामा २.३७ अंकले घट्दै ११ सय ६६.२१ विन्दुमा झर्यो । सेन्सेटिभ इन्डेक्समा पनि ०.३२ अंकले घट्दा २५४.२१ अंकमा सीमित बन्न पुग्यो ।

नेप्सेमा सूचीकृत कम्पनीमध्ये १७१ कम्पनीका २० लाख २९ हजार ८१५ कित्ता सेयर ७२ करोड १६ लाख ४२ हजार ९६५ रुपैयाँमा कारोबार भयो । 

यस दिन नेप्से उपसमूहमा रहेका १२ वटा समूहमध्ये पाँचवटामा हरियाली छायो भने अन्य सातवटामा रातो पोतियो ।

आज व्यापार समूहमा सबैभन्दा धेरै १.५८ अंकको बढोत्तरी आयो भने बैंकिङ, वित्त, अन्य र म्युचुल फन्डमा क्रमशः ०.८४, ०.०१, ०.३८ र ०.०१ अंकले बढ्यो ।

यो दिन निर्जीवन बिमा, जीवन बिमा र होटेल्स समूहमा सबैभन्दा बढी गिरावट आयो । यी दुवै समूहमा क्रमशः ५९.५५, ४०.३४ र ३५.०१ अंकले घट्यो । त्यस्तै विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन र लघुवित्त क्रमशः ९, ०ं३७, १०.१९ र १०.९१ को गिरावट आयो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आजको दिन शिवम् सिमेन्टले उच्च कारोबार गर्यो । यो कम्पनीमात्र १० करोड ३३ लाख रुपैयाँबराबरको कारोबार गर्न सफल भयो । त्यस्तै नागरिक लगानी कोष र नेपाल बैंकले पनि राम्रै कारोबार गरे । यी दुवै कम्पनीले क्रमशः ८ करोड ८२ लाख र ७ करोड ६२ लाख रुपैयाँबराबरको कारोबार गरे।

यसैगरी बुटवल पावर कम्पनी, हिमालयन डिस्टिलरी, साल्ट ट्रेडिङ, एनएमबी बैंक, एचआईडीसीएल, नेपाल लाइफ इन्स्योरेन्स र नबिल बैंकले क्रमशः २ करोड ८४ लाख, २ करोड ५२ लाख, १ करोड ८७ लाख, १ करोड ८४ लाख, १ करोड ७७ लाख, १ करोड ५८ लाख र १ करोड ५२ लाख रुपैयाँबराबरको कारोबार गरे ।

धेरै कमाउने, धेरै गुमाउने  

आजको दिन सपोर्ट माइक्रोफाइनान्सका सेयरधनीहरुले धेरै कमाए । यो कम्पनीको सेयरमूल्यमा झन्डै १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । त्यस्तै कन्चन डेभलपमेन्ट बैंक, पाँचथर पावर कम्पनी, छ्याङ्दी हाइड्रोपावरका सेयरधनीहरुले पनि राम्रै कमाए । यी सबै कम्पनीका सेयरमूल्यमा ९ प्रतिशतभन्दा बढीले वृद्धि भयो । यस्तै जोशी हाइड्रोपावरको सेयरमूल्यमा पनि साढे ८ प्रतिशतले बढोत्तरी भयो ।

यस दिन आँखुखोला जलविद्युत् कम्पनीका सेयरधनीहरुले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्यमा ७ प्रतिशतभन्दा बढीले गिरावट आयो ।