– अर्जुन तिमिल्सिना
काठमाण्डौ । नेप्सेमा उत्पादन तथा प्रशोधन समूहमा सूचीकृत शिवम् सिमेन्ट सन् २००३ मा स्थापना भएको हो। सन् २०११ बाट यो कम्पनीले उत्पादन थालेको थियो।
सन् २०१५ मा यो कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गरेको थियो। कम्पनीले सर्वसाधरणका लागि १० प्रतिशत र स्थानीयका लागि २ प्रतिशत गरेर कुल ५२ लाख ८० हजार कित्ता सर्वसाधरण सेयर निष्कासन गरेको थियो।
नेपालमै सबैभन्दा ठूलो ग्रिनफिल्ड प्रोजेक्टका रुपमा रहेको यो कम्पनीले ४३ र ५३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गर्छ।
आधारभूत पक्ष
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीको चुक्तापुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ। कम्पनीको सेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँको रहेको देखिन्छ। कम्पनीको अन्य सम्पत्ति ४ अर्ब ६५ करोड रुपैयाँसहित कुल सम्पत्ति १० अर्ब रुपैयाँबराबर रहेको छ।
पहिलो त्रैमासमा कम्पनीले २० करोड ८२ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ। कम्पनीको ईपीएस १९.९३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २२६.५९ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्ति २९८.५९ रुपैयाँ रहेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिसेयर १४८० रुपैयाँ कायम भएको छ।
यो कम्पनीको ३० प्रतिशत होङ्सी सिमेन्टमा लागानी गरेको छ।
प्राविधिक पक्ष
इलिअट वेभ सिद्धान्तका आधारमा
यो सिद्धान्त सन् १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विश्वासिलो मानिन्छ भने यो वेभले लाखौँ लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा सेयर बजार सेयरको मूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण मानिन्छ।
इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सन हुन्छ। वेभ ५ को करेक्सन वेभ ‘ए’ हो। वेभ ‘ए’, ‘बी’ र ‘सी’ ले बजार तल जाने संकेत गर्छन्।
यो कम्पनीको हालसम्म बजार मूल्यले बनाएको चार्टलाई अध्ययन गर्दा इन्टरमिडिएट डिग्रीको वेभ (१) १५६९ रुपैयाँसम्म हुन सक्ने देखिन्छ। त्यसपछि वेभ (२) मा करेक्सन भएर १३४५ रुपैयाँसम्म आउन सक्ने देखिन्छ।
त्यसैगरी वेभ (३) मा पुनः कम्पनीको सेयरभाउ उकालो लागेर २१४१ रुपैयाँसम्म र वेभ (४) मा करेक्सन भएर १८९८ रुपैयाँसम्म आउन सक्ने देखिन्छ। यही डिग्रीको वेभ (५) मा पुनः उकालो लागेर फिवोनासीको १.६१ प्रतिशतको वृद्धिले यो कम्पनीको सेयरभाउ अबको एक वर्षमा २४०० रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)
फिवोनासी सिद्धान्तका आधारमा
फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यदि यो कम्पनीको सेयरभाउ घटेमा ०.२३ प्रतिशतको टेवा १६३५ रुपैयाँसम्म, ०.३८ प्रतिशतको टेवा १४६३ रुपैयाँसम्म, ०.५ प्रतिशतको टेवा १३६१ रुपैयाँसम्म, ०.६१ प्रतिशतको टेवा ११७६ रुपैयाँसम्म र ०.७८ प्रतिशतको टेवा ९८५ रुपैयाँसम्म हुन सक्ने देखिन्छ।
एमएसीडी लाइनका आधारमा
सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनलाई आधार मान्ने हो भने गत डिसेम्बर २२ मा एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काटेको र बुलिस सिग्नल बनेको देखिन्छ (हेर्नुहोस् हरियो एरो)। जसले बुलिस सिग्नल भर्खरै बनेको छ र हिस्टोग्राम पोजेटिभ भएका छन् (हेर्नुहोस् कालो एरो)। यसले केही समय सेयरमूल्यमा वृद्धि हुन सक्ने बुझिन्छ।
बोलिंगर ब्यान्डका आधारमा
यो सिद्धान्त १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उत्तारचढावको विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। यो औजारअन्तर्गत यो कम्पनीको मूल्य रेखाले माथिल्लो ब्यान्डलाई छोएको छ र हरियो मारुबुजु क्यान्डल बनेको छ। यदि आगामी कारोबारमा माथिल्लो ब्यान्डमा रातो माथि लामो पुच्छर भएको क्यान्डल बन्छ भने आगामी दिनमा यो कम्पनीको सेयरमा अल्पकालका लागि करेक्सन पनि हुन सक्छ।
आरएसआईका आधारमा
आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भने छुट्याइन्छ। यो कम्पनीको हालको आरएसआई ६६.४३ रहेको छ। अघिल्लोपटक यो न्यून विन्दु २२.८३ को तहमा पुगेपछि मूल्य उकालो लागेको थियो भने उच्चतम विन्दु ८० को तहमा पुगेपछि सेयरभाउ ओरालो लागेको थियो। यसलाई आधार मान्दा सेयरमूल्य ओभर बट जोनमा रहेको छ र अल्पकालमा केही करेक्सन पनि हुन सक्ने देखिन्छ।
पिभट विश्लेषणका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्ट : १३१६
घटेमा सपोर्ट
नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। प्राविधिक विश्लेषणको संसारभर नै प्रयोग र आलोचना दुवै नै भइरहने हुनाले हामीले पनि स्वस्थ आलोचना स्वीकार गर्छौं। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19