काठमाण्डौ । शिवम सिमेन्टको सेयर दोश्रो बजारमा ठूला लगानीकर्ताले कर्नरिङ गरेको र सुनियोजित रुपमा गिरोहहरु परिचालन गरी अस्वभाविक रुपमा मूल्य बढाउने खेल भएको पर्दाफास भएसँगै बुधबारको बजारमा यो कम्पनीको सेयरमा रमिता देखिएको छ ।
बजार खुलेदेखि नै मिनेट–मिनेटको अन्तरालमा सेयर मूल्य घटाउने र बढाउनेहरुबीच घमासान प्रतिस्पर्धा चल्यो । एकघण्टासम्म यस्तो भएको थियो ।
कारोबार खुलेको पहिलो एकघण्टाको अवधिभित्र यो कम्पनीको सेयर ५ प्रतिशतले घटिसकेको थियो । तर, घटिसकेको सेयरलाई फेरि बढाउने क्रम चल्यो र अहिले फेरि बढ्न थालेको छ ।
शिवम सिमेन्टको सेयर बिक्री गर्ने र खरीद गर्नेबीचको घमासान प्रतिस्पर्धा निकै रोचक बन्दै गएको छ ।
सेयरको मूल्य अस्वभाविक रुपमा बढाएर सोझा लगानीकर्तालाई फसाउने गिरोहहरुले खरीदको चाप सिर्जना गरिरहेका छन् ।
आजको यो रमितामा शिवम सिमेन्टको मूल्यमा लामो समयदेखि खेल्ने गिरोहका लागि माध्यम बनेको ५८ नम्बर ब्रोकरको भने सचेत उपस्थिति देखिएको छ । विगत केही दिनदेखिको फ्लोरसिटमा यो ब्रोकरमार्फत शिवमको ठूलो परिमाणको सेयरमा चलखेल भएको देखिन्छ । यो विषय पर्दाफास भएसँगै तर्सिएको यो ब्रोकर बुधबार केही संयमित र सचेत देखिएको छ ।
सेयर मूल्य बढाउने गिरोहले अन्य ब्रोकरहरुलाई समेत भरपूर प्रयोग गरिरहेको छ । लगानीकर्ता संगठनका एक पूर्व नेताको लगानी रहेका २ वटा ब्रोकर शिवम सिमेन्टको खेलमा केही दिनअघिदेखि सक्रियतापूर्वक लागेको थियो, आज पनि ती ब्रोकरको सक्रियता हेर्नलायक देखिन्छ ।
जेहोस्, सेयर मूल्य बढाउने यथार्थ पर्दाफास भएपछि गिरोहहरु कुन हदसम्म सक्रिय हुन्छन्, सेयरमा कृत्रिम खरीद चाप कसरी सिर्जना गरिन्छ भन्ने रमिता पनि आज शिवममा देखिएको छ ।
यस्तै, केही मिडियाहरु प्रयोग गरी बिनाआधार र कारण सेयर खरीदको माहौल कसरी क्रिएट गरिन्छ भन्ने विषय पनि यो प्रकरणपछि अझ प्रष्टिएको छ ।
केही समयअघि बजारका प्राविधिक विश्लेषक धनकुमार राईले बिजशालामार्फत बजार बढ्छ भनेर विश्लेषण सार्वजनिक गर्दा घट्छ भन्ने लाइनमा जुन–जुन मिडिया प्रयोग भएका थिए, शिवमको मूल्य घट्न नदिन समेत तिनै मिडिया प्रयोग भएका देखिएको छ ।
धनकुमार राईलाई सो बेला जुन मिडियाहाउसले आफ्नो कार्यालयमै बोलाएर बजार घट्छ भनिदिनुहोस् भनेर घुमाउरो भाषामा धम्क्याएको थियो, हिजोदेखि त्यही मिडिया शिवम सिमेन्टको मूल्य घट्न नदिने अभियानमा लागेको देखिन्छ ।
जेहोस् सेयर बजारमा गिरोहहरुको नेक्सस कहाँसम्म र कस्तोसम्म हुन्छ भन्ने पनि यो प्रकरणले थप प्रष्ट्याएको छ । सर्वसाधारण लगानीकर्तालाई सबै पक्षको गठजोड निर्माण गरी कसरी बेवकुफ बनाइन्छ र सेयरबाट पैसा कमाइन्छ भन्ने बिषय समेत यो प्रकरणले थप प्रष्ट पारेको छ ।
शिवम सिमेन्ट एक प्रतिनिधि उदाहरण मात्र हो । नेपालको सेयर बजारमा यस्ता चलखेल दैनिक रुपमा हुने गर्छन् । सगरमाथा इन्स्योरेन्सको लाभांशमा भएको चलखेल र भित्री कारोबार समेत सामसुम बनाइएको धेरै भएको छैन ।
यस्तो बेलामा लगानीकर्ताले बुझेर मात्र खरीद वा बिक्रीको निर्णय लिनुपर्छ। कसैले हल्ला पिटाएको भरमा वा उचालेकै भरमा लगानीको निर्णय गरिए भविष्यमा पछुताउनुको विकल्प रहन्न ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19