काठमाण्डौ । प्रतिमेगावाट लागत निकै कम रहेको शिव श्री हाइड्रोपावर लिमीटेडले आयोजना  प्रभावितले नकिनेकोलाई समेत जोडेर ३३ लाख ५१ हजार १४० कित्ता आइपीओ आज बिहीबारबाट बिक्री खुला गरिएको छ ।

यो कम्पनीले आयोजना प्रभावितपछि सर्वसाधारणका लागि प्रतिकित्ता रु. १०० अंकित ३३ करोड ५१ लाख १४ हजार रुपैयाँबराबरको आइपीओ निश्कासन गरेको हो । यसअघि कम्पनीले पुस २७ देखि माघ ११ गतेसम्म आयोजना प्रभावितका लागि १४ लाख ७६ हजार ४ सय कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गरेको थियो । जसमध्ये ९ लाख ३६ हजार ५४० कित्ता बिकेको थिएन ।

आयोजना प्रभावित सिन्धुपाल्चोकबासीले नकिनेको सो कित्ता समेत जोडेर सर्वसाधारणका लागि कुल ३३ लाख ५१ हजार १४० कित्ता सेयर निश्कासन गरेको हो । आयोजना प्रभावितपछि यो यसअघि कम्पनीले सर्वसाधारणका लागि २२ लाख १४ हजार ६ सय कित्ता मात्र आइपीओ निश्कासन गर्ने योजना बनाएको थियो । तर, स्थानीयले सबै नकिनेपछि सर्वसाधारणमा जारी हुने कित्ता बढेको हो ।

निष्कासित आईपीओमध्ये सामूहिक लगानी कोष तथा कर्मचारीका कर्मचारीहरुलाई २ लाख ६८ हजार ९१ कित्ता छुट्याइएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन छिटोमा असोज २४ गते ढिलामा कात्तिक १५ गते बन्द गरिनेछ ।

आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमीटेड रहेको छ ।

यो कम्पनीको आइपीओलाई इक्रा नेपालले ग्रेड फोरको रेटिङ दिएको छ, जसको अर्थ कम्पनीको अवस्था औसतभन्दा कमजोर छ भन्ने हो । 

हाल यो कम्पनीले सिन्धुपाल्चोकमा २२.२ मेगावाटको उपल्लो चाकु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको प्रतिमेगावाट लागत १६ करोड ५० लाख रुपैयाँ रहेको छ।