काठमाण्डौ । शिव श्री हाइड्रोपावर लिमिटेडले रु. ३३ करोड ५१ लाख १४ हजार मूल्यबराबरको साधारण सेयर (आईपीओ) असोज १६ गतेदेखि बिक्री खुला हुने भएको छ ।

कम्पनीले १०० रुपैयाँअंकित दरका ३३ लाख ५१ हजार १४० कित्ता सेयर बिक्री खुला गर्न लागेको हो । कम्पनीको जारी पुँजीको १५ प्रतिशतले हुन आउने २२ करोड १४ लाख ६० हजार रुपैयाँबराबरको २२ लाख १४ हजार ६०० कित्ता स्थानीय बासिन्दाका लागि निष्कासन गरेको थियो । सो क्रममा ११ लाख ३६ हजार ५४० कित्ता आईपीओ बिक्री भएको थिएन । सोही बिक्री नभएको कित्तासमेत गरी सर्वसाधारणका लागि कुल ३३ लाख ५१ हजार १४० कित्ता सेयर निष्कासन गरिएको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० लाख कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन बन्द हुने मिति छिटोमा असोज २४ गते र ढिलामा कात्तिक १५ गते तोकिएको छ । 

धितोपत्र निष्कासन तथगा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड तोकिएको छ । यो आईपीओलाई केयर रेटिङ नेपाल लिमिटेडले ‘केयर एनपी आईपीओ ग्रेड ४’ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ ले औसतभन्दा तल आधारहरु रहेको जनाउँछ ।

यो कम्पनीले सिन्धुपाल्चोकको फुल्पिङकट्टी र मार्मिङको बीचमा बग्ने चाकु खोलामा २२.२ मेगावाट क्षमताको माथिल्ला चाकु ए जलविद्युत आयोजना निर्माणा गरिरहेको छ । आयोजनाको कुल लागत ४ अर्ब ९८ करोड ५९ लाख ९६ हजार ५१४ रुपैयाँ रहेको छ । आयोजनाको प्रतिमेगावाट लागत २२ करोड ४५ लाख ९४ हजार ४३७.५७ रुपैयाँ रहेको छ ।