काठमाण्डौ । नेपालको सेयर बजारमा सातामा ५ दिनमात्रै कारोबार हुने गरेको छ। सार्वजनिक बिदासँगै साताको दुई दिन शुक्रबार र शनिबार सेयर बजार बन्द रहने गरेको छ। 

लगानीकर्ताहरुले शुक्रबार पनि सेयर बजार खुलाउनुपर्ने माग गर्दै आएका छन् । बजारको आकार ठूलो भइसकेको र ठूलो संख्यामा मानिसहरु सेयर बजारप्रति आकर्षित भइरहेको भन्दै लगानीकर्ताहरुले अन्य कार्यालयजस्तै सेयर बजारमा शुक्रबार खुला गर्नुपर्ने माग गर्दै आएका छन्। 

लगानीकर्ताका माग सम्बोधन हुने भएको छ। अब शुक्रबार पनि सेयर कारोबार हुने भएको छ। 

नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज नयाँ वर्षबाटै सेयर बजारमा शुक्रबार पनि कारोबार सञ्चालन गर्ने तयारी जुटेको छ। ‘केही नीतिगत विषयमा संशोधन गरेर शुक्रबार पनि सेयर कारोबार खुला गरेर लगानीकर्ताका माग सम्बोधन गर्न लागेका हौँ’, नेप्से स्रोतले भन्यो। 

(नोट : आज अप्रिल १ । यो दिनलाई ‘अप्रिल फुल’ भनेर मनाइने गरिन्छ। यो दिन मानिसहरुलाई विभिन्न गतिविधि गरेर झुक्याउने चलन चल्दै आएको छ। त्यसैले यो समाचारमा पनि कुनै सत्यता छैन। केवल रमाइलोका लागि यो समाचार तयार पारिएको हो। यो समाचारले पर्न गएको असुविधाप्रति हामी हाम्रा पाठक र नियामक निकायसँग क्षमा याचना गर्छौं । यद्यपि लगानीकर्ताहरुले भने शुक्रबार पनि सेयर बजार खुलाउनुपर्छ भन्ने माग गर्दै आएको कुरा भने साँचो हो।)