काठमाण्डौ  । यो साता कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक झिनो अंकले बढेको छ ।

नेप्से परिसूचकमा १.१७ अंकको बढोत्तरीसँग बजार सकारात्मक दिशामा अगाडि बढ्नेमा लगानीकर्तामा आशा र विश्वास पलाएको छ । अहिले बजारमा साना लगानीकर्ताहरु सेयर खरिदबिक्रीमा झुम्मिएका छन् । विशेषगरी विकास बैंकहरुले समेत १२ प्रतिशत ब्याजदरमा ‘सेयर लोन’ दिन थालेपछि सेयर कारोबार गर्नेहरुको संख्या बढ्दै गएको एक ब्रोकरले बताए। उनका अनुसार सेयर कारोबारीहरु बढ्नुले बजार सकारात्मक दिशामा अगाडि बढ्ने शुभ संकेत देखिएको छ ।

यद्यपि ठूला लगानीकर्ताहरु भने ‘पर्ख र हेर’ को अवस्थामा बसेका छन् । ठूला लगानीकर्ताहरु पनि चलमलाउन थालेमा बजारको गति झनै तीव्रगतिमा अगाडि बढ्ने ती ब्रोकरको भनाइ छ ।

कारोबारको पहिलो दिन सुरुआती नकारात्मक अवस्थामा रहेको नेप्से परिसूचक झिनो अंकको बढोत्तरीसँगै ११५०.८१ विन्दुमा आएर बन्द भयो । यो दिन सेन्सेटिभ इन्डेक्समा भने झिनो अंक ०.२५ ले गिरावट आयो ।

गत साताको अन्तिम कारोबार दिन बिहीबारको तुलनामा कारोबार रक म भने थोरै घटेर ३७ करोड ४४ लाख रुपैयाँबराबरको सीमित बन्न पुग्यो । गत बिहीबार कारोबार रकम ४२ करोड रुपैयाँबराबरको भएको थियो ।

यस दिन नेप्सेमा रहेका १२ उपसमूहमध्ये ६ वटामा हरियाली छायो भने ६ वटामा रातो पोतियो ।

यस दिन उत्पादन तथा प्रशोधन र होटल्स समूहमा सबैभन्दा धेरै अंकले वृद्धि भयो । यी दुवै समूहमा क्रमशः ७०.३२ र ४४.६१ अंकको बढोत्तरी भयो । त्यस्तै विकास बैंक, अन्य, लघुवित्त र म्युचुअल फन्डमा पनि क्रमशः ३.४९, ५.८१, १.४६ र ०.०५ अंकको वृद्धि भयो ।

आजको दिन जीवन बिमा र निर्जीजीवन बिमा उपसमूहले धेरै गिरावट देखियो । यी दुवै समूहमा क्रमशः ४३.७७ र २४.२ अंकको गिरावट आयो । त्यस्तै बैंकिङ, व्यापार, जलविद्युत् र वित्त समूहमा क्रमशः ०.९२, १०.४६, १.६ र ३.०६ अंकले ह्रास आयो ।

सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेप्सेमा सूचीकृतमध्ये १६७ कम्पनीका १४ लाख ८८ हजार ३०४ कित्ता सेयर ३७ करोड ४४ लाख ६६ हजार ४६५ रुपैयाँमा कारोबार भयो । 

आजको दिन शिवम सिमेन्ट लिमिटेड र एनएमबी बैंकका कारोबार धरै भए। शिवमको ४ करोड ७६ लाख रुपैयाँबराबरको कारोबार भयो भने एनएमबी बैंकले ३ करोड ३३ लाख रुपैयाँबराबरको कारोबार गर्न सफल भयो । 

यसैगरी नेपाल बैंक, नबिल बैंक, एनसीसी बैंक, सूर्य लाइफ इन्स्योरेन्स र ज्योति विकास बैंकको संस्थापक सेयरका क्रमशः २ करोड ८३ लाख, २ करोड ५९ लाख, १ करोड ६३ लाख, १ करोड २३ लाख र १ करोड १३ लाख रुपैयाँबराबरको कारोबार भए । यस्तै देवः विकास बैंक, एनआईसी एसिया बैंक र अरुण काबेली पावरले पनि ९८ लाख ५६ हजार, ९५ लाख ८० हजार र ९२ लाख ७७ हजार रुपैयाँबराबरको कारोबार गर्न सफल भए । 

धेरै कमाउने, धेरै गुमाउने

यो दिन शिवम सिमेन्ट र पाँचथर पावर कम्पनीका सेयरधनीहरुले धेरै कमाए। यी दुवै कम्पनीका सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी भयो ।

यस्तै यस दिन नेपाल फाइनान्स लिमिटेडका सेयरधनीहरुले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आयो ।