-अर्जुन तिमिल्सिना
लामो समय बजार बन्द हुँदा लगानीकर्ताको अनुहार मलीन छ । यसको पछाडि कहीँ न कहीँबाट लगानीकर्ता र धितोपत्र बोर्डमा ग्रहण अर्थात छायाँ परेको हुनुपर्छ । चन्द्रमाको छायाँ पृथ्वीमा परेपछि छायाँ परेको ठाउँबाट हेर्दा सूर्यग्रहण लाग्ने हो । बेला बेलामा आकाशमा देखिएको सूर्यग्रहण कहिलेकाहीँ लगानीकर्ताले शेयरबजारमा पनि देखेका छन् । खासगरी सरकार बनेदेखि नै ओराली लागेको बजार अहिले पूर्ण रुपमा बन्द छ, जुन भनेको खग्रास सूर्यग्रहण हो ।  

राजनीतिलाई नजिकबाट नियालेर हेर्ने हो भने अब ग्रहणले छोड्दै गएको अवस्था छ । केही समयमा शेयरबजारको धर्ती पूर्ण रुपले उज्यालो हुने निश्चित छ । लकडाउनले लामो समय बजार बन्द भएपछि लगानीकर्ताको अरबौंको सम्पत्ति बन्धक भएको छ । लगानीकर्तालाई बैंक तथा वित्तीय संस्थाको हिसाब मिलान गर्नुपर्ने बाध्यता छ अहिले ।  

नेपालकै शेयरबजारको इतिहासमा यति लामो समय बन्द भएको यो पहिलोपटक हो । शेयर बजारमा नै आश्रित लाखौं  लगानीकर्ताको खल्ती खाली भएको अवस्था हो अहिले । कोभिड १९ ले ग्रस्त अर्थतन्त्र अब कसरी उकास्ने भन्ने चिन्ता संसारभर छ । धेरै विकसित राष्ट्रले अर्थतन्त्र उकास्ने प्याकेज ल्याएका छन्, जुन भनेको सस्तो ब्याजदरमा बजारमा  उपलब्ध हुने गरी पैसा पठाउने हो । उद्योग तथा व्यापार र रोजगारी सिर्जना हुने ठाउँमा सस्तो दरमा केन्द्रीय बैंकले अन्य बैंकमा पैसा पठाउनुपर्छ ।  

अहिले सबैतिर बन्दाबन्दीले पैसा एकै ठाउँमा थुप्रेको छ, जुन भनेको ठूलो पानी ट्याङ्कीमा पानी रोकिएजस्तै हो, अब घर घरका धारा खोलिनुपर्छ । पैसा भनेको तरल चिज हो, मुख्य कुरा ब्याजदर हो । ब्याजदर र शेयर बजारको उल्टो सम्बन्ध हुन्छ । ब्याजदर घट्दा सेयर बजार सधैं बढ्छ । मुद्रास्फिति ६ प्रतिशतको हाराहारीमा रहेको अहिलेको अवस्थामा ब्याजदर अब एकल अंक अर्थात ९ प्रतिशतमा ल्याउनुपर्छ । यो कुरा राष्ट्रबैंकले पक्कै बुझेको छ र आगामी मौद्रिक नीतिले सम्बोधन गर्नेछ ।  

गभर्नरको बिचार सुन्दा पूँजीबजारलाई सपोर्ट हुने गरी मौद्रिक नीति आउँदैछ । यदि ब्याजदर पहिले जसरी एकल अंकमा आयो भने शेयरबजार पुनः एकपटक फेरि नयाँ उचाईमा नपुग्ला भन्न सकिन्न । खासगरी बैंकमा थुप्रेको पैसा अहिले नै उद्योगधन्दामा जाने सम्भावना कमै छ । सरकारले उठाएको राजश्व विकास खर्च तथा कर्मचारी खर्चमार्फत फेरि बैंकिङ च्यानलमा नै आउने हुँदा बजारमा तरलता अभाव होलाजस्तो देखिन्न । 

लगानीकर्ताले भने जसरी शेयरधितो कर्जामा २० प्रतिशतसम्मको नपुग भएमा मार्जिन कल नगर्ने नियम यथावत राखिनु आवश्यक छ भने शेयर मार्जिनको सीमा ८५ प्रतिशत पुर्याइनुपर्छ । करको कर कर पनि टुङ्गिएको छ । पाँच प्रतिशत नै अन्तिम हुने अर्थमन्त्रालयको आशय स्वागतयोग्य छ, किनकि ठूला तथा साना लगानीकर्तामा यो ठूलो समस्या थियो । राजश्व विभागले कुनै पनि बेला चाहे ठूला लगानीकर्तालाई तान्नसक्छ भन्ने डर बजारमा सुनिन्छ  । त्यो अब अन्त भएको छ, जसले गर्दा अब बजारमा नयाँ उर्जा थपिन्छ ।  

लगानीकर्ता साथीहरुले उठाउन बिर्सिएको अर्को एउटा पाटो लामो समयदेखि मर्जरमा गएर कारोबार नभएको विषय पनि हो । मर्जरमा गएर कारोबार बन्द हुँदा बजार खुले पनि आफ्नो सेयर बेच्न अथवा धितो राख्नबाट बञ्चित हुनु लगानीकर्ताको अहित हो । साहरा बिकास बैंक यसको ताजा उदाहरण हो । 

यसैगरी, हकप्रद तथा बोनस सेयर बेलैमा सूचिकृत नहुनु पनि लगानीकर्ताको अहित कार्य हो । हामी सधैं नेप्से र धितोपत्र बोर्ड घेर्न र हेर्न मात्रै जानुभन्दा लगानीकर्ता साना साना विषयमा कता ठगिएका छन्, त्यो पनि ख्याल गर्नुपर्छ । 

कमिसनको बिषयमा  पनि बहस जरुरी छ । अन्य सुधार गर्नुपर्ने थुप्रै बिषय छन् । हामी डिजिटल माध्यममा जाँदै थियौं  ।  कोभिड १९ ले त झन् हामीलाई डिजिटल माध्यममा जान अनिवार्य गर्यो । हरेक समस्यामा समाधान पनि हुन्छ भने जस्तो यो समस्याले पनि समाधान पक्कै ल्याएको छ, जुन अवसर पनि हो । कनेक्ट आइपीएसबाट रकम भुक्तानी तथा रियलटाइम कारोबार अब हाम्रा मुख्य  माग हुन् । चारकोशे झाडीभित्रै बसेर पनि मोवाइलबाटै आइपीओ हाल्न पाउनु ठूलै उपलब्धि हो, त्यसमा सरोकारवाला निकायसँग हामी अनुग्रहित छौ, तर अझै गर्नुपर्ने र हिँड्नुपर्ने गन्तव्य धितोपत्रमा धेरै छन् । 

सेयरबजार भनेको मनोविज्ञान नै हो, हामी लगानीकर्ता पनि धेरै डराउनुहुन्न । बैंक तथा वित्तीय संस्थासँग ठूलो मात्रामा तरलता छ, जुन बजारमा आउने निश्चित छ । अब हामी यो कोभिड १९ सँग दुरी कायम गरी जुध्न पनि तयार हुनुपर्छ   । रोगले भन्दा भोकले मर्ने दिन आउनुहुन्न ।

अर्थमन्त्रालय तालुकदार मन्त्रालय हो, जसले धितोपत्र बोर्ड  र नेप्सेलाई नियमन गर्न जरुरी छ, तर छाँया नै पर्ने गरी गरिनुहुन्न । अब बजार संचालन र सुधार दुवै सँगसँगै गर्दै जानुपर्छ । यही सोमबार वा मंगलबारबाट बजार खुल्ने भनिए पनि लगानीकर्ता ढुक्क भएको अवस्था छैन । बजार खुल्ला कि नखुल्ला अथवा खुले पनि के कसो होला ? सामान्यतया अहिले लगानीकर्ताको मनोबिज्ञान अलिक कमजोर हो कि जस्तो देखिन्छ, तर बजारको तरलताको अवस्था हेर्दा सार्है नराम्रो अवस्था नआउने निश्चित छ किनभने बैंक तथा वित्तीय संस्थाले शेयरकर्जामा अहिले नै धेरै कडीकडाउ गर्ने अवस्था छैन ।

बजार बिकास र सुधारका लागि बनाइएको रामकुमारी झाँक्री नेतृत्वको आयोगको पनि बजारमा चर्चा छ । के कति काम भयो ? लगानीकर्ता अलमलाउन बनाइएको आयोग हो भने पनि त्यसको खासै औचित्य छैन, होइन भने रिजल्ट देखिनुपर्छ । अहिलेको बिशेष अवस्थामा सरोकारवाला निकाय अर्थमन्त्रालय, नेपाल राष्ट्रबैंक, धितोपत्र बोर्ड, नेप्से र लगानीकर्ता सबै मिलेर अगाडि बढ्नु नै सबैको हितमा हुन्छ ।