काठमाण्डौ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिनाकारण सेयर बजारमा १२ करोडको सिमा लगाइएको भन्दै त्यसलाई तत्काल हटाउन आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै उनले सरकार अर्थतन्त्र धस्त बनाउन भष्मासुर भएर लागिरहेको आरोप लगाए । उनले अर्थतन्त्रको संकटलाई लिएर उद्योग व्यवसायी तथा लगानीकर्ता चरम निराशामा पनि पुगेको बताए ।

‘सरकार अर्थतन्त्रको संकटलाई ढाकछोप गर्न लागिपरेको छ,’ उनले भने, ‘आर्थिक वृद्धिदरको अवस्था हेर्दा दुई प्रतिशत पनि नपुग्ने अवस्था छ, राजस्व संकलनको अवस्था हेर्दा पनि त्यस्तै अवस्था छ ।’

उनले भने, ‘आयात निर्यात दुवै घटेको अवस्था छ, अहिले ऋण लिने अनि सरकार चलाउने मात्रै काम भएको छ ।’ 

सरकारप्रति उद्योगी व्यवसायीले विश्वास नै नगरेको अवस्था रहेको भन्दै  उनीहरुलाई त्रसित बनाउने काम सरकारले गरिरहेको पनि बताए ।

‘सरकार विकास निर्माण र जनसेवामा देखिनुपर्छ । विकास मात्र होइन, विकास, ज्ञान र प्रविधिमा राष्ट्रहरु प्रतिस्पर्धामा छन् । तर अफसोच यहाँ सरकार हराएको छ । राष्ट्र, जनता र संसद छलिरहेको छ’ उनले भने, ‘सरकार प्रमुख खोज्नुपर्ने अवस्था आएको छ ।’