काठमाण्डौ । रौतहट जिल्लाको पहिलो चिनी मिल श्रीराम सुगर मिल्स लिमिटेड स्थायी रुपमा बन्द भएको छ।

लामो समयदेखि घाटा व्यहोर्दै आउनुपरेको भन्दै उद्योग व्यवस्थापनले मिल्स् बन्द भएको जानकारी गराएको हो। ‘यो उद्योग रौतहट जिल्ला र वरपरका स्थानीयलाई रोजगार दिनुका साथै स्थानीय उखु किसानलाई नगदेबालीमा प्रोत्साहन गर्दै आएको थियो’, उद्योग व्यवस्थापनद्वारा विज्ञप्तिमा भनिएको छ, ‘सुरुका केही वर्षहरुमा उद्योग राम्रैसँग चले पनि विगत लामो समयदेखि ठूलो घाटा व्यहोर्नुपरेको छ।’

कम्पनी सञ्चालकहरुले आफ्ना तर्फबाट करोडौँ रकम लगानी गरेर उद्योग टिकाइराख्ने कोसिस गरे पनि घाटा झनै बढ्दै गएको मिल्सले जनाएको छ। ‘एक आर्थिक वर्षमा उद्योगलाई करोडौँ घाटा हुन थाल्यो’, विज्ञप्तिमा भनिएको छ, ‘जसका कराण उद्योग व्यवस्थापन चाहँदाचाहँदै पनि उखु किसानको रकम भुक्तानीमा समयमा भुक्तानी गर्न सकेन। विगत चार महिनादेखि उद्योगमा कार्यरत श्रमिकको कर्मचारी सञ्चय कोषबापतको रकम र पारिश्रमिक पनि भुक्तानी गर्न सकिएको छैन।’ 

मिल्सका अनुसार आर्थिक वर्ष २०७५/७६ सम्म उद्योगको कुल घाटा २ अर्ब १७ करोड ७५ लाख ५८ हजार ३७६ रुपैयाँ पुगेको छ। गत आर्थिक वर्ष २०७६÷७७ मा पनि उद्योग केवल १३ दिनमात्र खुलेको र गत चैत १३ गतेदेखि पूर्ण रुपमा बन्द रहेको विज्ञप्तिमा उल्लेख छ।

यस्तो विषम परिस्थितिमा उद्योग सञ्चाल गर्नका लागि सबैतिरबाट अनुकूल नभएसम्म उद्योगलाई स्थायी रुपमै सधैँका लागि बन्द गर्नुको विकल्प नरहेको उद्योग व्यवस्थापनले जनाएको छ। सोही कारण हिजो आइतबारदेखि उद्योग स्थायी रुपमै बन्द गर्ने निर्णयमा उद्योग व्यवस्थापन पुगेको विज्ञप्तिमा जनाइएको छ।

उद्योग बन्द भए पनि उद्योगको नाममा रहेका चल अचल सम्पत्ति बिक्री गरी श्रमिक तथा कर्मचारीको तलबभत्ता र सुविधा तथा किसानका बक्यौता रकम भुक्तान गरिने व्यवस्थापनले जनाएको छ। यसका लागि अनुमति लिन नेपाल सरकारको अनुमति लिने प्रक्रिया सुरु गरिएको विज्ञप्तिमा उल्लेख छ।