काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र श्रीलंकाका लागि नेपाली राजदूत वासुदेव मिश्रबीच आज भेटवार्ता भएको छ। 

श्रीलंकामा कार्यभार सम्हाल्न जानुअघि राजदूत मिश्रले काठमाण्डौको जमलस्थित भवनमा चेम्बरका पदाधिकारीसँग भेटवार्ता गरेका छन्। मिश्रसँगको भेटका क्रममा चेम्बर पदाधिकारीले कठिन परिस्थितीबाट गुज्रिरहेको श्रीलंकाको अर्थतन्त्रले छिटै लय समात्ने अपेक्षा गरेका थिए। 

चेम्बरका कार्यवाहक अध्यक्ष कमलेश कुमार अग्रवालले राजदूत मिश्रको कार्यकालको सफलताको कामना गरे। श्रीलंकाको आर्थिक अवस्था अहिले चुनौतीपूर्ण भए पनि लामो समय नरहने आफ्नो अपेक्षा रहेको अग्रवालको भनाइ छ। सार्क, बिम्स्टेक जस्ता क्षेत्रीय संगठनको साझेदार रहेका दुई मुलुकबीच व्यापारका लागि अझै पनि ठूलो संभाबना रहेको अग्रवालले बताए। 

नेपाल चेम्बर अफ कमर्स र श्रीलंकन चेम्बर अफ कमर्सबीच अहिले पनि उच्चस्तरीय व्यवसायिक सहकार्य जारी रहेकाले राजदूत मिश्रको कार्यकालमा पनि यसले निरन्तरता पाउने अग्रवालले आशा व्यक्त गरे। अग्रवालले श्रीलंका र नेपालबीच ऊर्जा व्यापारको सभावना रहेको र भारतसहित त्रिपक्षीय सम्झौताको आवश्यकतामा समेत जोड दिए। 

बुद्धको जन्मभूमि लुम्बिनी श्रीलंकन पर्यटकका लागि उत्कृष्ट गन्तव्य वन्न सक्ने र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले कोलम्वो लुम्बिनी सिधा बिमान सम्पर्कका लागि आवश्यक पहल गर्न पनि कार्यवहाक अध्यक्ष अग्रवालले राजदूत मिश्रसँग आग्रह गरे। 

राजदूत मिश्रले पनि श्रीलंकन अर्थतन्त्रमा छिट्टै सुधार आउनेमा आफू आशावादी रहेको बताए। बुद्धमार्गीहरुको भूमि श्रीलंकाबाट पर्यटक ल्याउन एवं नेपालको पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि आफूले पहल गर्ने राजदूत मिश्रको भनाइ छ।