काठमाण्डौ । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज सोमबार बाँडफाँड गरिएको छ। 

धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको काठमाण्डौ कमलपोखरीस्थित कार्यालयमा श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँड गरिएको छ। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको थियो। 

यो लघुवित्त भदौ १५ गतेदेखि भदौ १९ गतेसम्म आईपीओ बिक्री गरेको थियो। यो लघुवित्त १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ बिक्री गरेको थियो। जसमा ५ प्रतिशतले हुन आउने १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने ५ हजार ४७० कित्ता कर्मचारीका लागि छुट्याइएको थियो। बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए। 

यो आईपीओमा १८ लाख ३८ हजार ७५१ आवेदकले कुल १ करोड ९९ लाख ७२ हजार ६८० कित्ताका लागि आवेदन दिएका छन्। जसमा १८ लाख ३७ हजार ४३६ आवेदकबाट माग भएको १ करोड ९९ लाख ५७ हजार ६१० कित्ता सदर भएको छ भने १ हजार ३१५ आवेदकबाट परेको १५ हजार ७० कित्ता बदर भएको छ। 

यो आईपीओ ५४.१९ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। गोलाप्रथाबाट भाग्यमानी ३६ हजार ८५९ जनाले मात्र १० कित्ताका दरले सेयर पाएका छन्। यो हिसाबले साढे १८ लाख ५७७ आवेदकको हात खाली भएको छ। 

यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री गर्ने कम्पनी श्रृजनशील लघुवित्त र धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट र सीडीएससीको https://iporesult.cdsc.com.np मा गएर हेर्न सकिनेछ।