काठमाण्डौ । नेपालभर बिहीबार थप ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या २५० पुगेको छ।

बिहीबार बिहान थपिएको ७ संक्रमितमध्ये एक ६ वर्षीया बालिका पनि छिन्। ती बालिकाको श्वासनलीमा पलाएको मासु शल्यक्रिया गर्नुअघि सतर्कताका लागि गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण देखिएको खुलासा भएको छ। 

ती बालिका केही दिनयता काठमाण्डौको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको न्युरो सर्जरी वार्डमा भर्ना छिन्। चिकित्सकले ती बालिकामा स्वासनलीमा मासु पलाएको देखिएको भन्दै शल्यक्रियाको तयारी गरेका थिए। 

सोही क्रममा थप सतर्कताका लागि गरिएको पीसीआर परीक्षणमा बालिकामा कोरोना पोजिटिभ देखिएको अस्पताल स्रोतले बतायो। 

बालिकामा कोरोना पोजिटिभ देखिएकपछि अस्पतालमा उच्च सतर्कता अपनाइएको छ। ती बालिकामा कसरी कोरोना संक्रमण देखिएको भन्ने विषयमा र उनको ट्रभल हिस्ट्रीका बारेमा अनुसन्धान सुरु गरिएको बताइएको छ ।