काठमाण्डौ । श्वेत-गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले आज साउन ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। 

कम्पनीले १०० अंकित दरका कुल २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ बिक्री खुला गरेको हो। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने १ लाख १९ हजार ४७५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी २२ लाख ७० हजार २५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। 

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाबाट आवेदन दिन सक्नेछन्। सीडीएसीको मेरो सेयरमार्फत अनलाइन आवेदन दिने व्यवस्था गरिएको छ। 

यो आईपीओमा साउन ८ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ। यो अवधिमा मागबमोजिम आवेदन नपरेको खण्डमा साउन १८ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। 

श्वेत-गंगा हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।