काठमाण्डौ । नेपालको अर्थतन्त्रको ताजा अवस्था बुझ्नुभन्दा अघि केही आँकडा थाहा पाउन आवश्यक छ। नेपालको जनसंख्या करिब २.९ करोड, अर्थतन्त्रको आकार करिब ३५०० करोड डलर, सार्वजनिक ऋण जीडीपीको करिब ४३ प्रतिशत र महँगी दर ७ प्रतिशत रहेको छ। 

नेपाली अर्थतन्त्रमा खतराको घन्टी तब बज्यो जब सन् २०२२ मार्चको मध्यमा देशको विदेशी मुद्रा सञ्चिती ९७५ करोड डलरमा खुम्चियो। सन् २०२१ जुलाईमा यो ११७५ करोड डलर थियो। करिब ७ महिनाको अन्तरालमा नेपालको विदेशी मुद्राको सञ्चिती करिब २०० करोड डलर अर्थात २४ हजार करोड रुपैयाँले घटेको छ। 

कुनै पनि देशको अर्थतन्त्रमा विदेशी मुद्राको भण्डारको ठूलो योगदान हुने गर्छ। देशको केन्द्रीय बैंकले विदेशी मुद्रा र अन्य एसेस्टलाई आफूसँग राख्ने गर्छ। विदेशी मुद्रालाई अधिकांश डलरमा राख्ने गरिन्छ। आवश्यकता पर्दा यसबाट दायित्वहरुको भुक्तानी पनि गर्ने गरिन्छ। जब कुनै पनि देश निर्यातको तुलनामा आयात धेरै गर्छ तब विदेशी मुद्राको सञ्चिती घट्न थाल्छ। 

आम रुपमा कुनै पनि देशको विदेशी मुद्राको भण्डारले कम्तीमा ७ महिनाको आयात धान्ने हुनुपर्छ भन्ने मान्यता रहेको पाइन्छ। हाल नेपालको विदेशी मुद्राको सञ्चितीको क्षमता ६.७ महिनाको आयात धान्न सक्ने रहेको छ। घट्दो विदेशी मुद्रा सञ्चितीका कारण केही मानिसहरु नेपालको तुलनामा श्रीलंकासँग गरिरहेका छन्। 

घट्दो विदेशी मुद्राको भण्डार र खस्किँदो अर्थतन्त्रका कारण नेपाल सरकारले राष्ट्र बैंकको गर्भनरलाई निलम्बन गरेको थियो। खस्किँदो अवस्थालाई सुधार्नका लागि निर्यात बढाउन र आयात घटाउन नेपाल सरकारले कैयौँ कदमहरु चालिरहेको छ। अत्यावश्यकबाहेकका विदेशी वस्तुहरुको आयात रोकिएको छ। 

नेपालको अर्थतन्त्रमा आयात–निर्यातको कुरा गर्दा दुई व्यापारिक साझेदार महत्वपूर्ण मानिन्छन्। पहिलो भारत र दोस्रो चीन। 

यसको कारण यो हो कि नेपालले करिब ६२ प्रतिशत विदेशी व्यापार भारतसँग गर्छ र करिब १४ प्रतिशत चीनसँग। 

भारतमाथि कति निर्भर छ नेपाल ?

नेपाल राष्ट्र बैंकको सन् २०१९–२० को प्रोभिजनल डेटाका अनुसार नेपालले भारतसँग करिब १०६० करोड डलरबराबरको विदेशी व्यापार गरेको छ। यसमा आयात करिब ९८० करोड डलर र निर्यात करिब ८० करोड डलर छ। नेपालले विदेशबाट कुल जति रुपैयाँको सामान खरिद गर्छ। त्यसमा करिब ७० प्रतिशत भारतबाट खरिद गर्छ। यसको अर्थ नेपालले ७० प्रतिशत आयात भारतबाट गर्छ। जुन सन् २०१९–२० मा करिब ६२० करोड डलर थियो। 

नेपालले भारतबाट सबैभन्दा धेरै सवारीसाधन, स्पेयर पाटर््स, तरकारी, चामल, पेट्रोलियम पर्दाथ, मेसिनरी, औषधि, एमएस बिलेट, विद्युतीय सामान र कोइला खरिद गर्छ। 

निर्यातको कुरा गर्दा भारतले सन् २०१९–२० मा नेपालबाट करिब ५७ करोड डलरबराबरको सामना खरिद गरेको थियो। नेपालबाट भारत निर्यात भएका वस्तुमा मुख्य रुपमा अलैँची, जुस, जुट आयुर्वेदिक औषधि, पाम तेल र टेक्स्टाइलसँग सम्बन्धित वस्तुहरु छन्। 

चीनमा कति निर्भर नेपाल ?

भारतपछि नेपालले सबैभन्दा धेरै व्यापार गर्ने देश चीन हो। सन् २०१९–२० मा नेपालले चीनबाट करिब १४९ करोड डलरबराबरको आयात गरेको थियो भने १ करोड डलरबराबरको निर्यात गरेको थियो। नेपालले चीनबाट मुख्य रुपमा दूरसञ्चार उपकरण, टीभी, रासायनिक मल, विद्युतीय सामग्री, मेसिनरी वस्तु, तयारी पोसाक र जुत्ता आयात गर्छ। 

त्यस्तै हस्तकलाका वस्तु, पस्मिना र गहुँको पिठो चीनमा निर्यात गर्छ। भारत र चीन दुवैसँग नेपालको व्यापार घाटा अधिक छ। यही कारण नेपालको विदेशी मुद्राको सञ्चितीमा अधिक भार परिरहेको छ। किनकि विदेशी व्यापारमा डलरमार्फत खरिद–बिक्री हुने गर्छ। 

नेपालको विदेशी आयको प्रमुख स्रोत पर्यटन क्षेत्र हो। नेपालमा आउने पर्यटकमध्ये भारत र चीनबाट आउनेको संख्या धेरै छ। सन् २०१८ मा नेपालमा १५ लाख पर्यटक नेपाल भित्रिएका थिए। जुन सन् २०१९ मा घटेर ११ लाखमा सीमित भएको थियो। सन् २०१९ मा नेपाल आउने पर्यटकमा भारतका पर्यटक सबैभन्दा धेरै थिए। त्यस वर्ष करिब २ लाखभन्दा बढी भारतीय पर्यटक नेपाल आएका थिए। त्यस्तै चिनियाँ पर्यटकको संख्या १ लाख ७० हजार थियो। 

कोरोना महामारीबाट विश्वका अन्य देशहरुजस्तै नेपालको पर्यटन क्षेत्रसमेत प्रभावित बन्यो। जसको परिणामस्वरुप चीन र भारतबाट मात्रै नभई अन्य पश्चिमा देशहरुबाट आउने पर्यटकहरुको संख्यामा समेत कमी आएको छ। 

सन् २०१८–१९ मा पर्यटकको आगमनबाट नेपालले ७५ अर्ब रुपैयाँ आर्जन गरेको थियो। जुन सन् २०२०–२१ मा केवल ७ अर्ब रुपैयाँमा सीमित भएको छ। अर्थात कोरोना महामारीका दौरान पर्यटन क्षेत्रको कमाइ ९० प्रतिशतले घटेको छ। 

रेमिट्यान्समा भारी गिरावट

नेपालको अर्थतन्त्रलाई मजबुतीका साथ उभ्याउनमा रेमिट्यान्सको ठूलो हात रहेको छ। नेपालको जीडीपीको एक चौथाइ हिस्सा रेमिट्यान्सबाट आउने गर्छ। नेपालका करिब ३० लाख जनता रोजगारीको सिलसिलामा विदेशमा छन्। 

कोरोना महामारीका कारण नेपाल भित्रिने रेमिट्यान्समा समेत गिरावट आएको छ। कोरोना महामारीपूर्व रेमिट्यान्समार्फत वार्षिक करिब ८०० करोड डलर नेपाल आउँथ्यो। तर, अहिले यो घटेर ४५० करोड डलर पुगेको छ। 

प्रत्यक्ष वैदेशिक लगानीमा कमी 

नेपालको प्रत्यक्ष वैदेशिक लगानीमा सन् २०१५ देखि चीन पहिलो स्थानमा रहँदै आएको छ। चीनले नेपालमा जलविद्युत, सिमेन्ट, जडीबुटी र पर्यटन क्षेत्रमा लगानी गर्दै आइरहेको छ। सन् २०१९–२० मा नेपालमा कुल प्रत्यक्ष वैदेशिक लगानी ९५ मिलियन अमेरिकी डलरबराबर थियो। जसमा ८८ मिलियन अमेरिकी डलरबराबरको प्रतिवद्धता चीनले मात्रै गरेको थियो। तर, कोरोना महामारी र राजनीतिक उचारचढावका कारण यसमा भारी गिरावट आएको छ। –बीबीसीबाट भावानुवादित