काठमाण्डौ । कोरोनाभाइरसबाट बच्न यतिबेला बजारमा मास्क र सेनिटाइजरको माग बढ्दो छ। यद्यपि यी दुवै वस्तु विरलै पाइन्छ। 

यस्तो संकटको अवस्थामा कालोबजारीले पराकाष्टा नाघेको छ। संकटमा कमाउ धन्दा चलाउने दाउमा केही व्यापारी लागिपरेको पछिल्ला केही घटनाक्रमले देखाएको छ। 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यो भाइरससँग लड्न मास्क र सेनिटाइजरको आपूर्ति बढाउन सुझाइरहेको छ। यता नेपालमा भने यिनै सामग्री लुकाएर पछि महँगो दाममा बेच्ने चलखेल सुरु भएको छ। 

काठमाण्डौको चन्द्रागिरी नगरपालिका–१० सतुंगलस्थित एउटा गोदामबाट आइतबार साँझ करिब ६ लाख थान सर्जिकल मास्क बरामद भयो। यसअघि कपनबाट १ लाख ६८ हजार थान र डल्लुबाट ७८ हजार थान मास्क बरामद भएको थियो। 

सतुंगलस्थित रोहित श्रेष्ठको घरको गोदाममा लुकाएर राखिएको मास्क भेटिएपछि स्थानीय प्रशासनले शिलबन्दी गरेको थियो। आज बिहान खोलेर गन्ना १७५ वटा बोरामा ६ लाख बढी मास्क रहेको थाहा भएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट यी क्षेत्रहरुबाट मास्क बरामद हुनुमा आपसमा कनेक्सन रहेको खुलेको छ। कपनबाट मास्कसहित पक्राउ परेका ६ जनालाई प्रहरी हिरासतमा राखेर कालोबजारीमा संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।