काठमाण्डौ। भारतमा कोरोना संक्रमितको संख्या १० लाख नाघेको छ।

पछिल्लो २४ घन्टामा करिब ३५ हजार नयाँ संक्रमित थपिएपछि संख्या १० लाख नाघेको हो। योसँगै संक्रमितको संख्या १० लाख पार गर्ने देशको संख्या तीन पुगेको छ। यसअघि अमेरिका र ब्राजिलमा यो आँकडा पार गरिसकेका छन्।

भारतमा कोरोनाबाट हुने मृत्युदर भने न्यून देखिएको छ। हालसम्म भारतमा कोरोनाबाट २५ हजार ५०२ जनाको मृत्युु भइसकेको छ। 

कोरोनाबाट हुने मृत्युको आँकडाले भारत विश्वको आठौँ स्थानमा रहेको छ। 

भारतको पश्चिमी राज्य महाराष्ट्र कोरोना संक्रमणको हटस्पट बनेको छ। महाराष्ट्रमा अन्य राज्यहरुको भन्दा धेरै अर्थात २ लाख ८० हजार जनालाई कोरोना संक्रमण पुुष्टि भएको छ। 

महाराष्ट्रमा मात्रै नभई भारतका अन्य राज्यहरुजस्तै कर्नाटका र आन्द्र प्रदेश पनि कोरोना संक्रमणको नया हटस्पटका रुपमा उदाइरहेका छन्। भारतमा जनवरी महिनामा पहिलो कोरोना संक्रमणको घटना देखिएको थियो। 

भारत सरकारले कोरोनाको नियन्त्रण र रोकथामका लागि अन्तर्राष्ट्रिय हवाई प्रतिबन्धसहितको लकडाउन लागू गरेको थियो। तर दुुई महिना लामो लकडाउनका कारण देशको अर्थतन्त्र डामाडोल भएपछि भारत सरकारले जुुन महिनाको अन्तिममा प्रतिबन्धहरु खुुकुुलो पार्दै परीक्षणको गति बढाएको थियो। 

विश्वको दोस्रो ठूलो जनसंख्या भएको र अधिकांश जनसंख्या अव्यवस्थित सहरीकरणमा बसोबास गर्ने भएकाले भारत सधैँ कोरोना संक्रमणको विश्वस्तरमा हटस्पट बन्ने सम्भावनामा रहेको थियो। – एजेन्सी