काठमाण्डौ । केही दिनयता मुलुकमा कोरोना संक्रमणको मामिला लगातार घटिरहेको छ भने निको हुनेको संख्या बढ्दै गइरहेको छ। पछिल्लो २४ घन्टाको अवधिमा पनि नयाँ कोरोना संक्रमितभन्दा निको हुनेको संख्या अधिक देखिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा थप ४ हजार ७६२ जनामा कोरोना पुष्टि भएको छ। यही अवधिमा निको हुनेको संख्या भने ६ हजार ४९१ रहेको छ। 

पछिल्लो २४ घन्टामा १५ हजार ५५ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार १७८ जनामा र २ हजार ४२५ जनाको एन्जिटेन परीक्षण गर्दा ५८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

यो अवधिमा काठमाण्डौ उपत्यकामा १ हजार २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा काठमाण्डौका ८९०, ललितपुरका २५२ र भक्तपुरका १४१ जना छन्।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ। 

मन्त्रालय अनुसार पछिल्लो २४ घन्टामा देशभर ६ हजार ४९१ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म निको हुनेको संख्या ४ लाख ४७ हजार ४४६ पुगेको छ। 

हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ६ हजार ४७० रहेको छ। 

पछिल्लो २४ घन्टामा थप ११४ जनाको मृत्यु भएको छ। योसँग कुल मृतकको संख्या ७ हजार ३८६ पुगेको छ।