काठमाण्डौ । सरकारले कोरोना संक्रमण बढ्दै गए लकडाउन गर्नुपर्ने अवस्था आउने जनाएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा सहप्रवक्ता डा समीरकुमार अधिकारीले संक्रमितको संख्या बढ्दै गए लकडाउन गर्नुपर्ने अवस्था आउने संकेत गरेका हुन्। ‘अनावश्यक भीडभाड बढ्नु, मास्क नलगाउनु, सामाजिक दूरी कायम नगर्नु, भेटघाट तथा गोष्ठी बढ्नुले संक्रमितको संख्या बढ्दै गएको छ’, उनले भने, ‘लडकाउन गर्नु सरकारको उद्देश्य होइन तर परिस्थितअनुसार नीतिगत निर्णय गरेर संक्रमणको चक्र रोक्नुपर्ने हुन्छ र संक्रमणलाई भयावह रुपमा फैलिन नदिन सजग हुनुपर्छ ।’

डा अधिकारीले नजिकिँदै गरेको होली पर्व घरमै बसेर मनाउन आग्रह गरेका छन्। ‘अनावश्यक भीडभाड नगर्नुहोस्’, उनले भने। 

त्यसो पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपाल फर्किनेहरु बढ्न थालेको छ। मन्त्रालयले नाकामा आवश्यक सुरक्षा अपनाउन र हेल्थ डेस्कलाई सक्रिय रुपमा सञ्चालन गर्न तथा नेपाल प्रवेश गर्ने व्यक्तिलाई मास्क उपलब्ध गराउन निर्देशन दिएको छ।

काठमाण्डौ विश्वविद्यालयको जनस्वास्थ्य विभागमा कार्यरत डा. अर्चना श्रेष्ठले भारतमा कोरोना संक्रमितको संख्या बढेकाले नेपालमा पनि केही हप्तामा नै संक्रमणको संख्या बढ्दै जानसक्ने बताइन् । उनले दोस्रो चरणको कोरोना महामारी न्यूनीकारण लागि सबै सर्तक हुनुपर्ने बताइन्। ‘विशेषगरी दीर्घ रोग भएका व्यक्तिले सावधानी अपनाउनुपर्छ’, उनले भनिन्, ‘शंका लागेमा तुरुन्त स्वास्थ्यजाँच गर्नुपर्छ।’