काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त भएकी छिन् । 

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बुधबारको निर्णयअनुसार उनलाई कम्पनीको निमित्त प्रबन्ध निर्देशक पदमा अर्को व्यवस्था नभएसम्मका लागि नियुक्त गरिएको हो । 

उनले कम्पनीको नायव प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन् । 

नवनियुक्त निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बी.ई. र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम.ई. गरेकी छिन् । उनले २०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इञ्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी थिइन् भने २०५१ फाल्गुण १० गते स्थायी नियुक्ति पाएकी थिइन् । उनी २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशकमा नियुक्त भएकी थिइन् ।

पदभार ग्रहण गर्दै नवनियुक्त निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले सबैको सहयोगको अपेक्षा सहित कम्पनीको उत्तरोत्तर प्रगतिका लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।