काठमाण्डौ । संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना मोहम्मदले कोरोनाभाइरसविरुद्धको खोप विकास र विस्तारका लागि सहयोगको आह्वान गरेका छन्।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाविरुद्धको खोप विकास गरी बिरामीको उपचारका लागि विस्तार गराउन ३५ अर्ब अमेरिकी डलरको आवश्यकता पर्ने माहम्मदले बताएका छन्। “विश्व नै अहिले आपतकालिन अवस्थामा छ, त्यसको निवारणका लागि खोपको आवश्यकता पर्दछ, त्यसको विकास, उत्पादन र बिक्रीवितरणका लागि ठूलो धनराशि चाहिने भएको छ”, उनले भने।

राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उपमहासचिव मोहम्मदले विश्वव्यापी यो महामारी अत्यसका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए।  विश्वलाई पुनः पहिलेकै अवस्थामा फर्काउनका लागि आ–आफ्नो ठाउँबाट सवैले योगदान गर्नुपर्ने तथा स्वास्थ्य, बौद्धिक, अध्ययन अनुसन्धानका क्षेत्रबाट र नीति क्षेत्रबाट पनि प्रयासहरु भइरहेको उनले जानकारी दिए। 

न्यून तथा मध्यम आर्थिक अवस्था भएका देशहरुलाई सहयोगको थप आवश्यकता भएकोतर्फ माहम्मदले विश्वको ध्यान जानुपर्ने बताए। -रासस/सिन्ह्वा