काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आज प्रतिनिधिसभाको बैठकमा सेयर बजारको पछिल्लो अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका छन्। 

थापाले विगत लामो समयदेखि नेपालको सेयर बजार अस्थिर रहेकोप्रति चिन्ता व्यक्त गरे। ‘३१९८ को उच्चतम विन्दुमा पुगेको नेप्से परिसूचक हिजो १९९५ विन्दुमा झरेको छ’, उनले भने, ‘यस्तो परिघटनाले सेयर बजारको विश्वसनीयतामा नकारात्मक प्रभाव पर्ने नै हो। तर योसँगै धेरै साना लगानीकर्ता उठ्न नसक्नेगरी प्रभावित भएका छन्।’

प्रत्येक दिन आफूकहाँ १० देखि १५ जना सेयर बजारको समस्या लिएर आउने गरेको पनि थापाले जानकारी गराए। ‘काठमाण्डौको मात्रै होइन साना–साना सहरका आममानिसले दुःख गरेर २ पैसा बचाएर सेयर बजारमा लगानी गरेका छन्’, उनले भने, ‘अहिले बजार घट्दा तिनै मानिस म झुन्डिएर मर्छ भनिरहेका छन्, कोही हामी सडकमा आइपुग्यौँ भनिरहेका छन्।’

सामान्य अवस्थामा सेयर बजार तलमाथि हुनु नियमति प्रक्रिया नै रहेको उल्लेख गर्दै थापाले लगानी गर्नेले यो कुरा बुझ्नु पनि पर्ने बताए। ‘तर, कुनै अस्थिर नीतिका कारणले गर्दा बजारको ह्रासले अहिले विद्यमान र सम्भाव्य सबै लगानीलाई बजारबाट दुरुत्साहित गरेको छ’, उनले भने। 

तरलता अभावले सेयर बजारमा समस्या ल्याउनु स्वभाविक रहेको थापाको भनाइ थियो। ‘तर, राष्ट्र बैंकले लिएको सेयर धितो कर्जालाई संकुचन गर्ने नीतिले सेयर बजारमा यस्तो अवस्था आयो भनेर जुन कुरा भनिएको छ, त्यसबारेमा सरकारको ध्यान आकृष्ट हुनै पर्छ’, उनले भने, ‘कारण जेसुकै होस्। 

सेयर बजारको स्थायित्व कायम गर्न र सेयर बजारमाथिको विश्वास कायम राख्न अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्डजस्ता नियमनकारी निकायहरुले के–कस्तो कार्य गरिरहेका छन् भन्नेबारे सदनलाई जानकारी गराउनुपर्छ।’

यसका साथै साना लगानीकर्ताको सुरक्षाका लागि के–कस्ता काम भइरहेको जानकारी गराउन पनि थापाले आग्रह गरे। ‘निजी क्षेत्रको रियल सेक्टर र अन्तर्राष्ट्रिय लगानीकर्तालाई समेत धितोपत्र बजारमा ल्याएर अर्थतन्त्रलाई फराकिलो बनाउने बेलामा अहिले यस्तो अवस्था बनेको छ’, उनले भने, ‘धितोपत्र बजारको यो विश्वसनीयतामा यति ठूलो ह्रास आउनु सकारात्मक कुरा होइन।’

धितोपत्र बजारको नीति दिगो र अर्थतन्त्रलाई सबलीकरण गर्ने खालको हुनुपर्ने थापाले बताए। ‘सेयर बजारलाई ठीक ठाउँमा ल्यानै पर्छ। तर, यसो गर्दा ४०–५० लाख एकैपटक सडकमा आउनुपर्ने अवस्था सिर्जाना हुने हुँदा यसको भार हाम्रो अर्थतन्त्रले थेग्न सक्ला कि नसक्ला भन्ने जानकारी हुन आवश्यक छ’, उनले भने।