काठमाण्डौ । नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री अर्जुन नरसिंह केसीले नेपालमा नोटबन्दी गर्नुपर्ने माग गरेका छन्। 

प्रतिनिधिसभामा बुधबार प्रि–बजेट छलफलमा सांसद केसीले यस्तो माग गरेका हुन्। उनले रु. १ हजार र रु. ५०० दरका नोटमा नोटबन्दी गर्नुपर्ने बताएका छन्। ‘चर्को ब्याजदरमात्रै पुँजी परिचालनमा बाधक बनेको होइन’, उनले भने, ‘देशमा डम भएर बसेको ३० प्रतिशत पैसामा तुरुन्तै नोटबन्दी आवश्यक छ।’

त्यसो भए भ्रष्टचारको पोल खुल्ने र समाधान पनि हुने केसीले बताए। 

स्विस बैंकमा सन् २०१९ मा नेपालीको पैसा २२ अर्ब रहेकोमा सन् २०२० मा बढेर ४६ अर्ब पुगेको पनि केसीले बताए। ‘राष्ट्र बैंकको नियमले यो दिँदैन र यो पैसा भ्रष्टचारीकै हो’, उनले भने। 

केसीले  लगानीलाई उत्पादन र रोजगारीसँग जोड्न पनि माग गरे। भेनेजुएलाको उदाहरण दिँदै उनले भने, ‘एक केजी चामललाई ३ लाख रुपैयाँ पर्छ, त्यो परिस्थिति नेपालमा आउन हुँदैन।’

विश्व बैकले नेपालमा ३.१ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुन नसक्ने भनेको अवस्थामा धेरै महत्वकांक्षी बजेट हुन नहुनेमा केसीले जोड दिए। ‘भ्युटावरमात्रै देशको विकास होइन’, उनले भने, ‘अहिले नेपालमा ३० प्रतिशत लुटेको पैसा रहेकोले देशको अर्थतन्त्र विकासका लागि नोटबन्दी आवश्यक छ।’