काठमाण्डौ । चीनमा महामारीका रुपमा देखिएको प्राणघातक कोरोनाभाइरस प्रभाव संसारभर फैलिन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वलाई नै संकटग्रस्त घोषणा गरेको छ ।

यो भाइरसको संक्रमणबाट चीनमा अहिलेसम्म २१३ जनाको ज्यान गइसकेको छ भने आठ हजारका हाराहारीमा संक्रमण देखिएको छ । चीनबाहेक नेपाल, अमेरिका, जापान, दक्षिण कोरिया, अस्ट्रेलियासहित १८ देशमा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

यो भाइरसका कारण विश्वभरका मानिसहरुले आफ्नो चिन भ्रमण रद्द गरिरहेका छन् । त्यस्तै विश्वका अधिकांश एयरलायन्स कम्पनीहरुले आफ्नो उडान रद्द गर्नुका साथै ख्यातिप्राप्त कम्पनीहरुले आफ्ना कर्मचारीलाई चीनमा व्यापारिक भ्रमणमा नगर्न निर्देशन दिएका छन् ।

यो भाइरसले गर्दा विश्वभर चीनको छवि धमेलिनुका साथै आर्थिक क्षेत्रमा पनि व्यापक प्रभाव परेको छ ।

डब्लूएचओका महानिर्देशक टेड्रोस ऐडहेनाम गेब्रियसोसले जेनेभामा एउटा पत्रकार सम्मेलनमा यो भाइरससँग जुध्न चीनले चालेको कदम र सक्रियताको मुक्तकण्ठले प्रशंसा गरे । तर उनले यो भाइरस अन्य देशमा तीव्र गतिमा फैलिएकोमा चिन्ता पनि व्यक्त गरे ।

टेड्रोसले विश्व संकटग्रस्त घोषणामा चीनमा देखिएको भाइरसले मात्रै नभई अन्य देशमा फैलिएको संक्रमणका घटनाले पनि भूमिका खेलेको बताए । ‘यो भाइरस जुनजुुन देशमा फैलिएको छ ती देशका स्वास्थ्य प्रणाली र संरचना नाजुक अवस्थामा भएकाले चिन्ता झनै थपिएको छ’, उनले चिन्ताव्यक्त गरे ।

डब्लूएचओको यो कदमले कोरोनाभाइरस देखिएका सबै देशका बीच भाइरससँग सम्बन्धित सूचनाहरु आदानप्रदान गर्न सहज हुनेछ र यसमा कडाइ गरिनेछ । तर डब्लूएचओको यो निर्णयले चीनलाई भने केही कठिनाइको स्थिति सिर्जना हुनेछ ।

विशेषज्ञहरु चीनबाहिर यो भाइरस एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्नेमा सशंकित र चिन्तित छन् । अमेरिका र इटलीमा पनि योे भाइरसको संक्रमणको घटनाबाहिर आएका छन् ।

व्यवसायीका अनुसार डब्लूएचओले विश्व संकटग्रस्त घोषणा गरे पनि चिनमा आवतजावत गर्न भने रोक नलगाएको स्पष्ट पारेको छ । यसका बाबजुद पनि एअर फ्रान्स, अमेरिकन एअरलाइन्स र ब्रिटिस एयरलायन्सले चीन उडानमा रोक लगाएका छन् । यस्ता कदमहरुले चीनले आर्थिक नोक्सान व्यहोर्नुु परिरहेको छ ।

कारोनाभाइरसका कारण देखाउँदै बहुराष्ट्रिय कम्पनीहरुले पनि चिनमा आफ्नो व्यवसाय बन्द गरिरहेका छन् । अल्फाबिटा इन्क, गुगल तथा स्विडेन आईकेईएले चीनमा आफ्नो व्यवसाय सञ्चालन बन्द गरेका छन् ।

भाइरस फैलिएको मुख्य सहर वुहानमा म्यान्मार, नेपाल र अन्य देशका विद्यार्थी फसेका छन् । त्यहाँ फसेका विद्यार्थीका अनुसार उनीहरु त्यहाँका सबै पसल बन्द रहेकाले आफूहरुले खानलाई किन्नसमेत नपाएको बताएका छन् ।

सन् २००५ मा संयुक्त राष्ट्रसंघले डब्लूएचओलाई विश्व संकटग्रस्त घोषणा गर्न सक्ने अधिकार दिएको थियो । त्यसयता डब्लूएचओले विश्वलाई संकटग्रस्त घोषणा गरेको यो छैटौँ पटक हो ।

डब्लूएचओले विश्वलाई संकटग्रस्त घोषणा गरे पनि चीन आवतजावतमा भने कुनै प्रतिबन्ध गरेको छैन । डब्लूएचओका अनुसार यदि चीनसँग सीमा जोडिएका कुनै देशले सीमा बन्द गर्छ भने आफूले त्यसको विरोध गर्ने जनाएको छ । हालै रुसले चीनसँग सीमा जोडिएका आफ्ना केही नाका बन्द गर्नुका साथै चिनियाँ नागरिकाहरुको भिसा रद्द गरेको भए पनि डब्लूएचओले रुसको नाम उल्लेख गरेन ।

डब्लूएचओको यो कदमले चीनको पर्यटन व्यवसायमा नकारात्मक प्रभाव पार्ने देखिएको छ । यो कदमले अब चीन जाने मानिसहरु झनै त्रसित हुनेछन्। डब्लूएचओको यो कदमपछि जापानले चीनका लागि हुने उडानहरु रोक लगाएको छ ।

चीनले भने आफू यो भाइरससँग जुुध्न सक्षम भएको र अहिलेको भयावह अवस्थालाई पुनः सामान्यकृत गर्ने जनाएको छ । –एजेन्सी