काठमाण्डौ । सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार पुगे पनि सरकारले लकडाउन नगर्ने भएको छ । 

राष्ट्रिय व्यवसायिक पहल(एनबिआई)को नेतृत्वमा आफूलाई भेट्न आएको व्यवसायिक संघसंस्थाका प्रतिनिधिहरुसँग स्वास्थ्यमन्त्री भानुभक्त ढकालले २५ हजार सक्रिय संक्रमित पुगे पनि लकडाउन नहुने प्रष्ट पारेका हुन् । 

'सक्रिय संक्रमितको संख्या २५ हजार पुगेपछि त्यसको व्यवस्थापन गर्न गाह्रो हुन्छ, त्यसका लागि स्वास्थ्यका पूर्वाधारहरु बढाउनुपर्छ भन्ने विषयमा मन्त्रालयमा छलफल मात्र भएको हो ।' स्वास्थ्यमन्त्रीको भनाई उद्धृत गर्दै टोलीमा सहभागी नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले भने-'छलफल भएको विषयलाई निर्णय नै भएजसरी बाहिर ल्याइएको मात्र हो । अब लकडाउन हुँदैन ।' 

व्यवसायीहरुसँग स्वास्थ्यमन्त्रीले सरकारले अब लकडाउन नगर्ने, बरु कोरोना संक्रमण नियन्त्रणका लागि फरक रणनीति बनाएर काम गर्ने तयारी गरिरहेको समेत बताएका थिए । 

स्वास्थ्यमन्त्रीसँग व्यवसायीहरुको टोली फेरि पनि लकडाउन नगर्न माग गर्दै शुक्रबार भेट्न पुगेको थियो । व्यवसायीहरुले अब फेरि पनि लकडाउन गरिए बिस्तारै लयमा फर्किन खोजेको अर्थतन्त्र चौपट हुने र यसले व्यापारी व्यवसायी टाट पल्टिने अवस्थामा पुग्ने जानकारी गराएका थिए । 

उनीहरुमध्ये केहीले सरकारले अब लकडाउनमा जान नहुने, यदि गएमा सबै उद्योग व्यवसाय बन्द गरी व्यापारी उद्योगीले चाबी सरकारलाई बुझाइदिन चेतावनी समेत दिएका थिए । 

टोलीको नेतृत्व गरी स्वास्थ्यमन्त्री भेट्न पुगेका एनबीआईका अध्यक्ष कुशकुमार जोशीले ६ महिना लामो लकडाउनका कारण व्यवसायिक क्षेत्र थला परेको उल्लेख गर्दै फेरि बन्द गरिए अधिकांश उद्योग व्यवसाय बन्द गर्नुको विकल्प नभएको बताए । 

कोरोना भाइरसको संक्रमण अझै केही वर्षसम्म रहने अवस्था देखिएकोले यसको नियन्त्रणका लागि सरकारले नयाँ विकल्प खोज्नुपर्ने र त्यसमा निजी क्षेत्रको पूर्ण साथ र सहयोग रहने बताए । निजी क्षेत्रका उद्योग व्यवसायहरु चलाउँदा आफूहरुले स्वास्थ्य मन्त्रालयले बनाएको प्रोटोकलको पूर्ण पालना गर्ने समेत सो क्रममा उनले प्रतिबद्धता जनाएका थिए । 

एनबीआई नेतृत्वको टोलीमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल(रेवान)का अध्यक्ष अरनिको राजभण्डारी, होटल संघका अध्यक्ष लगायतकाको सहभागिता थियो ।