काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आईपीओ अन्तिम दिनसम्म करिब साढे ४ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। 

कम्पनीले गत चैत ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओ आज चैत १२ गते बैंकिङ समयसम्म आवेदन सक्ने व्यवस्था गरिएको थियो। 

कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँबराबरको ४३ लाख ६८ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। जसको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता सेयर विदेशमा रहेका नेपाली श्रमिकका लागि बिक्री गरिसकेको छ। 

कम्पनीले बाँकी रहेको सेयरमध्ये ५ प्रतिशतले हुन आउने २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र ३ प्रतिशतले हुन आउने १ लाख ३१ हजार ४० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित राखी ३५ लाख ८१ हजार ७६० कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो। 

सीडीएससीका अनुसार यो आईपीओमा आज साँझ ५ बजेसम्म १४ लाख ३३ हजार ७१७ आवेदकबाट १ करोड ६० लाख ७६ हजार ७४० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ४.४९ गुणाले बढी हो। 

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी ३ लाख ५८ हजार १७६ जनाले १० कित्ताका दरले सेयर पाउनेछन्।

सगरमाथा जलविद्युतको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।