काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आईपीओ आज दिउँसो बाँडफाँड गरिने भएको छ। 

काठमाण्डौको कमलादीस्थित धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड हुनेछ। आईपीओ बाँडफाँड कार्यक्रम दिउँसो ३ः३० बजे राखिएको छ। 

कम्पनीले गत चैत ८ गतेदेखि चैत १२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँबराबरको ४३ लाख ६८ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। जसको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता सेयर विदेशमा रहेका नेपाली श्रमिकका लागि बिक्री गरिसकेको थियो।

कम्पनीले बाँकी रहेको सेयरमध्ये ५ प्रतिशतले हुन आउने २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र ३ प्रतिशतले हुन आउने १ लाख ३१ हजार ४० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित राखी ३५ लाख ८१ हजार ७६० कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो। 

निष्कासनको अन्तिम दिनसम्म यो आईपीओमा आज १४ लाख ३३ हजार ७१७ आवेदकबाट १ करोड ६० लाख ७६ हजार ७४० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ४.४९ गुणाले बढी हो। 

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी ३ लाख ५८ हजार १७६ जनाले १० कित्ताका दरले सेयर पाउनेछन्।