काठमाण्डौ । कर्मचारी सञ्चय कोषको अगुवाईमा स्टक डिलर कम्पनी स्थापना गर्ने काम अन्तिम चरणमा पुगेको छ । 

कोषका प्रशासक तुलसी प्रसाद गौतमकाअनुसार ५ अर्ब हाराहारीको फण्डमा सञ्चय कोष, सामाजिक सुरक्षा कोष, राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको लगानी रहनेछ । 

कोषले स्टक डिलर कम्पनी संचालनका लागि आवश्यक प्रबन्धपत्र र नियमावली बनाउने काम गरिरहेको उनले जानकारी दिए । 

सञ्चय कोष, सामाजिक सुरक्षा कोष, राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीले अब छिटै आआफ्नो बोर्डमा प्रस्ताव राखी स्टक डिलर कम्पनी स्थापना र त्यसमा लगानी स्वीकृत गराई औपचारिक रुपमा कम्पनी दर्ताको काम अगाडि बढाइनेछ । 

पछिल्लो समय अर्थमन्त्रालयले पूँजी बजारको स्थायीत्व र  सन्तुलनका लागि नागरिक लगानी कोष र सञ्चयकोषलाई स्टक डिलरको काम गर्ने गरी सहायक कम्पनी स्थापनाका लागि निर्देशन दिएको थियो । 

नागरिक लगानी कोषले भने नागरिक स्टक डिलर कम्पनी दर्ता गरिसकेको छ । यो कम्पनीले यही बैशाखदेखि नै स्टक डिलरको काम सुरु गर्ने तयारी गरेको छ ।