काठमाण्डौ । सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा बुधबारदेखि बिक्रीमा आउने 'सनराइज फर्स्ट म्युचुअल फन्ड' ले लगानीकर्तालाई पहिलो वर्षमै १० प्रतिशत लाभांश वितरणको प्रतिबद्धता जनाएको छ ।
राजधानीमा मंगलबार भएको पत्रकार सम्मेलनमा क्यापिटलका अधिकारीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । दोस्रो बजार घटेर अधिकांश म्युचुअल फन्डहरुको नेट एसेट भ्युल (न्याप) १० रुपैयाँभन्दा तल आएको समयमा निष्कासन हुन लागेको सनराइजको यो म्युचुअल फन्डले सञ्चालनको अधिकांश वर्ष आकर्षक लाभांश वितरणको प्रक्षेपणसमेत सार्वजनिक गरेका छन् ।
क्यापिटलको प्रक्षेपणअनुसार दोस्रो वर्ष र तेस्रो वर्ष १२/१२ प्रतिशत, चौथो र पाँचौँ वर्ष १४/१४ प्रतिशत, छैटौँ र सातौँ वर्ष १६/१६ प्रतिशत तथा अठौँ र नवौँ वर्ष १८/१८ प्रतिशत लाभांश वितरण गर्नेछ ।
यसरी यो स्किमको प्रक्षेपित औसत वार्षिक प्रतिफल २४.२९ प्रतिशत र औसत वार्षिक लाभांश १४ प्रतिशत रहेको छ ।
पहिलो वर्ष यो स्किमको प्रतिइकाइ खुद सम्पत्ति मूल्य १०.९१ रुपैयाँ हुने र दसौँ वर्षसम्ममा यो बढेर २१.२९ रुपैयाँ हुने प्रक्षेपण गरिएको छ।
सनराइज बैंक लिमिटेड कोष प्रवद्र्धक रहेको सनराइज फर्स्ट म्युचुअल फन्डले १० रुपैयाँअंकित दरका १० करोड इकाइको बिक्री बुधबारदेखि खुलाउँदैछ । रु १ अर्ब आकारको बन्दमुखी यो योजनामा न्यूनतम १०० देखि अधिकतम १ करोड इकाइसम्म खरिदका लागि आवेदन दिन सकिने छ । यो योजनाको न्यूनतम बिक्री हुनुपर्ने इकाइ ५ करोड र अधिकतम सकारिने इकाइ संख्या १२ करोड ५० लाख रहेको छ ।
इकाइ खरिद गर्न चाहनेले असोज ८ गतेदेखि कात्तिक ७ गतेसम्म आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाहरुबाट आस्वा प्रणालीअन्तर्गत साथै मेरो सेयर अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19