काठमाण्डौ  । सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँको ऋणपत्र कात्तिक २० गते निष्कासन गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट गत असोज २९ गते निष्कासन अनुमति पाएपछि बैंकले प्रतिइकाइ १ हजार रुपैयाँ दरका ३० लाख इकाइ ऋणपत्र जारी गर्न लागेको हो ।

बैंकले गत भदौ २३ गते ऋणपत्र निष्कासन गर्न सेबोनसँग अनुमति मागेको थियो ।

बैंकले ८ वर्ष अवधिको ‘१०.२५% सनराइज डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न सेबोनसँग अनुमति मागेको हो। कुल इकाइमध्ये १२ लाख इकाइ सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १८ लाख इकाइ भने बैंकले अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.२५% ब्याजदर पाउनेछन् । यो ऋणपत्रको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

यो ऋणपत्रको निष्कासन बन्द छिटोमा कात्तिक २४ गते र ढिलामा मंसिर १८ गते हुनेछ ।