काठमाण्डौ । 'सनराइज फर्स्ट म्युचुअल फन्ड' का ८ करोड ६० लाख इकाइ बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । 

सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा यो म्युचुअल फन्ड गत असोज ८ गतेदेखि कात्तिक ७ गतेसम्म बिक्री खुला गरिएको थियो । सनराइज बैंक लिमिटेड कोष प्रवद्र्धक रहेको यो म्युचुअल फन्डले १० रुपैयाँअंकित दरका १० करोड इकाइको बिक्री खुलाइएको थियो । जसमध्ये बिक्री भएका ८ करोड ६० लाख इकाइ नेप्सेमा सूचीकृत भएको हो । 

सनराइजको यो म्युचुअल फन्डले सञ्चालनको अधिकांश वर्ष आकर्षक लाभांश वितरणको प्रक्षेपणसमेत गरेको छ । 

यो म्युचुअल फन्डले लगानीकर्तालाई पहिलो वर्षमै १० प्रतिशत लाभांश वितरण गर्ने बताइएको छ । क्यापिटलको प्रक्षेपणअनुसार दोस्रो वर्ष र तेस्रो वर्ष १२/१२ प्रतिशत, चौथो र पाँचौँ वर्ष १४/१४ प्रतिशत, छैटौँ र सातौँ वर्ष १६/१६ प्रतिशत तथा अठौँ र नवौँ वर्ष १८/१८ प्रतिशत लाभांश वितरण गर्नेछ।

यसरी यो स्किमको प्रक्षेपित औसत वार्षिक प्रतिफल २४.२९ प्रतिशत र औसत वार्षिक लाभांश १४ प्रतिशत रहेको छ ।

पहिलो वर्ष यो स्किमको प्रतिइकाइ खुद सम्पत्ति मूल्य १०.९१ रुपैयाँ हुने र दसौँ वर्षसम्ममा यो बढेर २१.२९ रुपैयाँ हुने प्रक्षेपण गरिएको छ।