काठमाण्डौ । सनराइज बैंक लिमीटेडको ४९ हजार ६ सय ८७ कित्ता संस्थापक सेयर(सूचिकरण भइनसकेको ६४८१ कित्ता बोनस सेयर समेत) बोलकबोलबाट बिक्री हुने भएको छ । 

पुस ९ गते परिपक्व भएको सिद्धार्थ म्युचुुअल फण्डअन्तर्गत संचालित सिद्धार्थ लगानी वृद्धि योजना १ लाई खारेजीमा लैजानका लागि धितोपत्र बोर्डबाट निर्देशन प्राप्त भएको उल्लेख गर्दै सो योजनाको स्वामित्वमा रहेको सनराइज बैंकको संस्थापक सेयर बोलकबोलबाट बिक्रीका लागि बोलपत्र आह्वान गरिएको हो ।

प्रकाशित सूचना अनुसार बिहीबारको मितिदेखि ३५ दिनभित्र इच्छुक व्यक्ति, फर्म, कम्पनी र संघसंस्थाहरुले कति मूल्यमा सेयर खरीद गर्ने हो भन्ने स्पष्ट खुलाई बोलपत्र पेश गर्नुपर्नेछ । यसको अर्थ पुस २० गतेदेखि माघ २४ गतेसम्म सनराइज बैंकको संस्थापक सेयरमा आवदन दिन सकिनेछ  

बोलपत्र आवेदन फारम बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमीटेडबाट प्राप्त गर्न सकिने बताइएको छ । सेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ता वा सोभन्दा माथि १० ले भागन जाने गरी अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीले सेयरको न्यूनतम मूल्य तोकेको छैन । 

सिद्धार्थ क्यापिटलको काठमाण्डौ नारायणचौरस्थित मुख्य कार्यालयमा बोलपत्र पेश गर्नुपर्नेछ । यो लिलामीमा उपत्यकाबाहिरबाट बोलपत्र पेश गर्न सकिने अवसर दिइएको छैन । 

बजारमा सनराइज बैंकको संस्थापक सेयरको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३६२ रुपैयाँ रहेको छ ।