काठमाण्डौ । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका तीन जनामध्ये २ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । एकजनाको रिपोर्ट आउन बाँकी छ । 

चैत ५ गते लण्डनबाट काठमाण्डौ आएका एकै परिवारका तीनजनामा मंगलबार गरिएको र्यापिड टेस्टको क्रममा कोरोना पोजेटिभ देखिएको थियो । 

त्यसपछि उनीहरुको थ्रोट स्वाब संकलन गरी केन्द्रीय प्रयोगशालामा पीसीआर परीक्षणका लागि नमूना लगिएकोमा केहीबेर अघि आएको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

कोरोना संक्रमितहरुलाई हिजै साँझदेखि पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ । 

प्रहरीले हिजोदेखि नै सनसिटी अपार्टमेन्टलाई पूर्ण रुप्मा शिल्ड गरेको छ । 

सो अपार्टमेन्टका ५ वटा टावरमा ४०० बढी परिवार बसोबास गर्दै आएका छन् । त्यहाँ बस्नेमा पोजिटिभ रिपोर्ट आएसँगै अपार्टमेन्टमा बस्ने १७०० व्यक्ति, आसपासका सयौं स्थानीय समेत जोखिममा परेका छन् । 

स्थानीय तथा अपार्टमेन्ट क्षेत्रमा बुधबारदेखि नै नमूना संकलनको काम थालिने मन्त्रलायले जनाएको छ ।