– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षका लागि १२ जना आकांक्षीहरुले आवेदन दिएका छन्। सेयर बजारको नियमन गर्ने नियामक निकायको नेतृत्व कसले गर्ला भन्ने आमलगानीकर्ता मात्र नभएर ब्रोकरहरुलाई पनि चासोको विषय बनेको छ। ब्रोकरहरुले बजार विस्तार र सुधारका लागि सेबोनमा विभिन्न मुद्दाहरु उठाउँदै आएका छन्। 

नेपाल स्ट्क्स ब्रोकर्स एसोसिएसनका अध्यक्ष सन्तोष मैनाली ब्रोकरहरुले अन्तर्राष्ट्रिय पुँजी बजारका उत्कृष्ट अभ्यासहरु अवलम्बन गर्न उठाउँदै आएका मागहरु यसपटक नियुक्त भएर आउने अध्यक्षले सम्बोधन गर्ने आशा रहेको बताए। ‘अन्तर्राष्ट्रिय बजारमा ब्रोकरहरुले दिँदै आएको सेवाहरु हामीले पनि दिनुपर्छ भन्ने माग हामीले उठाउँदै आएका छौँ’, मैनाली भन्छन्, ‘नीतिगत ढोकाहरु खोल्ने हो भने हामीले अन्तर्राष्ट्रियस्तरको सेवा दिन चाहिने पुँजी, म्यानपावर साथै प्रविधि अँगाल्न तयार छौँ।’

अहिले बजारमा ब्रोकर संख्या थप्दामात्र बजार विस्तार हुनुका साथै पहुँ बढ्छ भन्ने समकालीन विचार हाबी भएको मैनाली बताउँछन्। ‘विश्व परिवेशमा हेर्ने हो भने ब्रोकर अफिस नै नदेखी लगानीकर्ताहरुले वर्षौंदेखि कारोबार गर्दै आएका छन्। त्यसैले हामीले ब्रोकर अफिस खोलेर शाखा विस्तार गर्नेभन्दा कम खर्चिलो मोडल अवलम्बन गर्न आवश्यक छ। त्यसका लागि मुख्य तीन विकल्पहरु छन्’, उनले भने, ‘सब–ब्रोकर, एजेन्ट र आधिकारिक प्रतिनिधि नियुक्ति।’

अहिले ब्रोकर शाखा खोल्दा झन्डै २०–२५ लाख खर्च हुने मैनालीको भनाइ छ। ‘यसले गर्दा कारोबार झन् महँगो हुँदै जान्छ’, मैनाली भन्छन्, ‘हामी कारोबार शुल्क महँगो भयो भनिरहेका छौँ। तर शुल्क घटाउनका लागि त्यस्तो तयारी केही पनि भएको देखिँदैन।’

पुँजी बजार संवेदनशील क्षेत्र भएकाले न्यूनतम स्टान्डर्ड कायम हुने आफ्नै प्रविधि ब्रोकर ल्याउन खोजिरहेको उल्लेख गर्दै मैनालीले भने, ‘अहिले सेयर बजारमा प्रविधि पनि खर्चिलो छ, हामी बजार विस्तारका लागि पनि खर्चिलो मोडल अपनाउन खोज्दै छौँ। त्यसैले नयाँ अध्यक्षले यसमा विचार गर्दा लगानीकर्तामात्र नभएर समग्र बजारको हित हुन्छ।’

मैनालीका अनुसार बजारमा सेबोनअन्तर्गत भएका निकायहरुको कर्मचारी साथै लगानीकर्ताहरुमा पनि सेयर शिक्षा र तालिम आवश्यक छ। ‘त्यसका लागि सेबोनसँग सहकार्य गर्न हामी तयार छौँ’, उनले भने, ‘ब्रोकर, मर्चेन्ट बैंकका साथै सेबोनअन्तर्गतका संस्थाहरुमा कर्मचारी योग्यता तोकेर लाइसेन्स र प्रमाणीकरण गर्न आवश्यक छ। त्यसका लागे सेबोनले छुटै आधिकारिक निकाय बनाउन आवश्यक छ।’

अहिले बजारमा विगत २० वर्षदेखि लगानी गर्दै आएका लगानीकर्ताहरु चुप बसेको मैनालीको भनाइ छ। ‘भर्खरै बजार प्रवेश गरेकाहरुले भने प्राविधिक विश्लेषक भन्दै बजारबारे आफ्नो धारणा राख्दै आएका छन्’, उनले भने, ‘यसले गर्दा बजारमा विकृति बढेको पनि देखिन्छ। प्राविधिक विश्लेषकहरुको पनि सेबोनले मापदण्ड राखी प्रमाणीकरण आवश्यक छ।’ 

अहिले लगानीकर्ता शिक्षा साथै प्रमाणीकरण बारे सुन्दा सानो लाग्छ तर दिगो बजार विकास र विस्तारको लागि यसले ठूलो भूमिका खेल्ने मैनालीको तर्क छ। ‘अहिले नेपाली पुँजी बजारमा इन्भेस्टरभन्दा ट्रेडर हाबी भएको देखिन्छ। त्यसैले ट्रेडिङ इन्स्ट्रूमेन्ट बढाउन आवश्यक छ’, उनले भने।

बजारमा इन्ट्रा–डे कारोबार सञ्चालन गर्दा ट्रेडरहरु बढ्दो साथै घट्दो बजारमा पनि आकर्षित हुनुका साथै तरलता पनि बुस्ट हुने मैनालीको दाबी छ। ‘इन्ट्रा–डे बजार सञ्चालन गर्दा विदेशी संस्थागत लगानीकर्ताहरु पनि आकर्षित हुन्छन्। त्यसका साथै बोन्ड मार्केट, डेरीभेटिभ मार्केट, राइट मार्केट साथै अक्सन मार्केट पनि सञ्चालन गर्दा लगानीकर्ताहरुलाई लगानी गर्न अन्य विकल्प हुनुका साथै वैदेशिक लगानीकर्ताहरु पनि आकर्षित हुने छन्’, मैनालीले भने।

अहिले नेपाली पुँजी बजार ब्रोकर र लगानीकर्ताबीचको आपसी समझदारी र ब्रोकरको इमान्दारितामा चल्दै आएको भनाइ मैनालीको छ। ‘भोलि बजारमा ब्रोकरको पुँजीले नभ्याउने कुनै पनि किसिमको पुँजीले नभ्याउने फ्रड भयो भने ब्रोकरसँग तिर्ने कुनै विकल्प छैन’, उनले भने, ‘त्यसैले नयाँ आउने अध्यक्षले जोखिमलाई मध्यनजर गर्दै सुरुआत भएको साइजेबल ग्यारेन्टी फन्डको दायरा बढाउँदै लान आवश्यक छ।’