– भक्तराज रसाइली
काठमाण्डौ । स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्षको नेतृत्व सम्हालिरहेका भरत रानाभाट ब्रोकर नम्बर ३५ कोहिनूर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज प्रालिका कार्यकारी अध्यक्ष पनि हुन् ।
२०७३–२०७६ सम्म एसोसिएसनको उपाध्यक्ष पदमा समेत भूमिका निर्वाह गरिसकेका रानाभाट कस्केली (पोख्रेली) युवा समाजका पूर्वसभापति हुन् । रानाभाटले लायन्स क्लबअन्तर्गत उनको क्लबमा संस्थापक अध्यक्ष पनि थिए ।
शंकरदेव क्याम्पसबाट एमबीएस उत्तीर्ण (फाइनान्स समूह) रानाभाटको जन्मघर कास्की पोखरा–१३ हो । हाल उनी काठमाण्डौ गैरीधाराका बासिन्दा हुन् ।
उच्च अध्ययनका लागि १६ वर्षअघि राजधानी छिरेका रानाभाट डिग्री अध्ययनरत रहँदै २०६२ सालताका ट्राभल एजेन्सीको व्यवसाय चलाउँथे । त्यहाँको आम्दानीबाट १३ वर्षअघि दोस्रो बजारमा नेपाल बंगलादेश बैंकको सेयर खरिद गरेर पूँजीबजारमा आवद्धता जनाएका थिए । शंकरदेव क्याम्पसको माहौलकै कारण सेयर लगानीकर्ता र ब्रोकर बनिएको उनी सम्झन्छन् ।
कोहिनूरको स्थापना २०६४ सालमा भएको हो । यो कम्पनीको चुक्ता पूँजी २ करोड ५० लाख रुपैयाँ छ भने नेटवर्थ ८ करोड ५५ लाख रुपैयाँ छ ।
दुईजना प्रमोटर रहेको कम्पनीमा २० जना कर्मचारी कार्यरत छन् । काठमाण्डौ हात्तीसारमा केन्द्रीय कार्यालय रहेको कम्पनीले पोखरा न्युरोडबाट पनि ब्रोकरेज सेवा दिइरहेको छ ।
कोहिनूरले डीपी सेवासमेत दिइरहेको छ। करिब ५ हजार डिम्याट व्यक्तिगत र संस्थागततर्फ १५० डिम्याट खाता खोलिएको जनाएको छ । ३५ सय हाराहारी अपडेटेड केवाईसी खाता रहेकामा दैनिक औसत २०–२५ जनाको कारोबार खरिदबिक्रीको आदेश आउँछ ।
कोहिनूरमा औसत ३५ जना दैनिक उपस्थिति कम्पनीको दाबी छ । कम्पनीले गत आवमा कुल १९६ कम्पनीका ४ अर्ब ३६ करोड रुपैयाँ रकमबराबरको कारोबार गरेको छ ।
ख्याति र कारोबारका आधारमा कोहिनूर औसतभन्दा माथि रहेको कार्यकारी अध्यक्ष रानाभाटको भनाइ छ । ब्रोकर हाउसमा रियल टाइम अडिटर राख्ने सीमित ब्रोकरमध्येका एक रानाभाटले विगत चार वर्षदेखि नै रियल टाइम अडिटर सीए फर्मबाट राख्ने व्यवस्था रहेको बताए । कम्पनी सिस्टमभित्र रहेर सेवा प्रवाह गर्ने र समयमै भुक्तानी हस्तान्तरण गर्नेलगायतका सुविधा नै कोहिनूरको बलियो पक्ष भएको उनको बुझाइ छ ।
रानाभाट परिवारको पारिवारिक पृष्ठभूमि इन्डियन आर्मीबाट प्रतिनिधित्व गर्दछ । बाल्यकालदेखि नै भारतीय सेनाको सेकेन्ड लेफ्टिनेन्ट बन्ने सपना बोकेका रानाभाट काठमाण्डौ आएर काकासँगै बस्दा उनैबाट प्रेरित हुँदै व्यापारमा पनि हात हाले । काका तिलक रानाभाटले व्यापारमा छलाङ मारेको देखासिकीमै उनले आफ्नो नेचर (व्यवहार ) सुहाउँदो उद्यमी बन्न ब्रोकर पेसा रोजेको बताए । एउटा व्यापारीले १० वटा डाक्टरलाई रोजगारी दिन सक्ने क्षमता राख्दछ भन्ने काकाको उपदेशले पनि रानाभाटले ब्रोकर पेसामा प्रवेश गरेको सुनाए ।
पूजीबजारको विकास गर्न ब्रोकरहरुलाई अन्तर्राष्ट्रियस्तरको बनाउन जरुरी ठानेका रानाभाटले ब्रोकरहरूले प्रोपाइटर डिलरसिप, पोर्टफोलियो व्यवस्थापन, इन्स्योरेन्स पोलिसीको एजेन्ट र सबब्रोकर मोडल हुनुपर्ने माग गरे ।
सेबोनबाट ब्रोकरले दिन मिल्ने सबै सेवासुविधा दिइरहेको र कम्पनीको एक बेग्लै कक्षमा अनलाइन ट्रेडिङका लागि छुट्टै क्याबिनको सुविधा सेवाग्राहीलाई दिइरहेको रानाभाटको भनाइ छ । बिहान ९ः३० बजेदेखि बेलुकी ५ः३० बजेसम्म सेवा दिइरहेको कम्पनीले जनाएको छ ।
‘नियामक निकाय सबैको अभिभावक हो । मार्केटको विकासका लागि ब्रोकरहरुको विकास हुन जरुरी र अहम् भूमिका रहन्छ र ती ब्रोकरहरुलाई संस्थागत व्यवहार नियामकबाट हुनुपर्छ भन्ने मेरो विचार हो’, रानाभाटले बिजशालासँग भने, ‘ब्रोकरहरु नियम परिधिभित्र नरहे नियामकले कारबाही गर्नुपर्छ नत्र व्यवसाय खुलेर गर्ने वातावरण नियामकले मिलाउन आवश्यक छ ।’
मुलुकका लागि पूँजीबजारले बृहत् महत्व राख्ने उल्लेख गर्दै रानाभाटले पूँजी संकलनको एकमात्र भरपर्दो ठाउँ भएको तर्क अघि सारे ।
नियामकको आजसम्म कुनै कारबाहीमा नपरेको रानाभाटले जानकारी दिए । पूँजीबजारसँगसम्बन्धित नीति बनाउँदा बृहत् अध्ययन अनुसन्धान हुनुपर्नेमा रानाभाटले जोड दिए । बजार सरोकारवाला सबैले पूँजीबजारका विषयमा बोल्दा सोच–विचार गरेरमात्रै बोल्नुपर्ने उनको जिकिर छ । पछिल्लो ५ वर्षमा नेपालको पूँजीबजार ग्राभेल सडकमा परिवर्तन भएको दाबी गर्दै उनले पिच जतिसक्दो चाँडो बनाउन जरुरी रहेको बताए। प्राथमिक बजार धेरै अघि बढेको र दोस्रो बजार पनि त्यस्तै बनाउनेतर्फ लाग्न सके परिकल्पना गरिएअनुसार नै पूँजीबजार बनाउन सकिने उनको मत छ।
लगानीकर्ताका आँखामा कोहिनूर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज प्रालि
कल्याण गौतम (४० वर्ष), शिक्षक, चाबहिल
विगत १० वर्षदेखि सेयर बजारमा म छु । यहीँबाट कारोबार गरेको ५ वर्ष भयो । ३५ नम्बर औसत लाग्छ, ठीकै छ। नियमित ग्राहकलाई उहाँले दिनसक्ने बेस्ट दिनुभए अझ राम्रो हुन्थ्यो । म १० नम्बरमा ६ नम्बर दिन्छु ।
भवानीशंकर श्रेष्ठ (५० वर्ष), इन्जिनियर, बानेश्वर
म सेयर बजारमै २२ वर्षदेखि लगानीकर्ता हुँ तर यहाँ आएको करिब ४ महिना भयो। यहाँ ठीकै र औसत लाग्छ । म १० नम्बरमा ७ नम्बर दिन चाहन्छु ।
प्राडा मनोहर कृष्ण श्रेष्ठ (७३ वर्ष), पूर्वप्राध्यापक, बागबजार
४२ वर्षदेखि म सेयर बजारसँग जोडिएको अनुभव छ । म यहीँबाट सेयर खरिदबिक्री गर्न थालेको २ वर्ष भयो । यहाँ आन्तरिक व्यवस्थापन बलियो बनाउन सुझाव दिन्छु । म १० नम्बरमध्ये ६ नम्बर दिन्छु ।
राजु पौडेल (३२ वर्ष), टुर गाइड, कपन
सेयर बजारमा लगानी गरेको र यहाँबाट सेवा लिएको ५ वर्ष नै भयो । कोहिनूरलाई कहिलेकाहीँ सर्भर समस्या र वाइफाइको नेटवर्क कमजोरी हटाउने सल्लाह दिन्छु । सूचनापाटीमा सेयर बजारका बारे नियमित र अपडेटेड सूचना राख्न आग्रह गर्दछु । म १० नम्बरमा ६.५ नम्बर दिन्छु ।
दामोदर सन्जेल (६१ वर्ष), पूर्वकर्मचारी, जोरपाटी
सेयर बजारमा ३५ वर्षदेखि नजिक छु। यहाँनेर सेवा लिएको ३ वर्षजति भयो । यहाँ अरु सबै ठीकै छ । म १० नम्बरमध्ये ७ नम्बर दिन्छु ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19