काठमाण्डौ । सपोर्ट माइक्रोफाइनान्सको आइपीओमा अचाक्ली आवेदन परेको छ । असोज १८ गतेदेखि खुलेको आइपीओमा दोश्रो दिनसम्म मागभन्दा ३६ गुणा बढी आवेदन परेको हो । 

यो कम्पनीले १ करोड ८० लाख मूल्यको १ लाख ८० हजार कित्ताको आइपीओ निश्कासन गरेको थियो । 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार दोश्रो दिनसम्म ६० करोड बराबरको आवेदन परेको हो । देशभरका ७१ ह्जार बढीले आवेदन दिएका छन् । 

आइपीओमा आवेदन दिने आइतबार तेश्रो दिन हो भने सोमबार अन्तिम दिन हो ।

इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ९०० कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था मिलाइएको छ । 

५ हजार रुपैयाँ भए यो कम्पनीको आइपीओमा लगानी गर्न सकिनेछ । विशेषगरी दशैंको दक्षिणा भेला पारी फजूल खर्च गर्नेहरुका लागि यो कम्पनीको आइपीओ लगानीको राम्रो विकल्प बन्नसक्छ। 

यो कम्पनीलाई धितोपत्र बोर्डले साउन २० गते आइपीओ निश्कासनको अनुमति दिएको थियो ।

आइपीओपछि यो माइक्रो फाइनान्सको चुक्तापूँजी ६ करोड रुपैयाँ पुुग्नेछ भने संस्थापक र साधारण सेयरधनीको सेयर स्वामित्व संरचना ७०ः३० प्रतिशतमा रुपान्तरण हुनेछ । 

यो माइक्रो फाइनान्सले आर्थिक वर्ष ०७३/७४ मा ४८ लाख बढी खूद नाफा आर्जन गरेको छ ।